प्रदेश १ बाट उत्कृष्ट शिक्षकको रुपमा चापागाईँ पुरस्कृत

बिर्तामोड । झापा मेचीनगर नगरपालिका–८ स्थित आदर्श माविका शिक्षिका प्रतिमा चापागाईँ पुरस्कृत भएकी छिन् । पीपी फाउण्डेशनले चापागाईँलाई प्रदेश १ को उत्कृष्ट शिक्षिकाको रुपमा पुरस्कृत गरेको हो । चापागाईँलाई कार्यक्रमका प्रमुख अतिथी नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पुरस्कार तथा सम्मान पत्र प्रदान गरेका थिए ।
फाउण्डेशनले आज काठमाण्डौको होटल मल्लमा आयोजना गरेको एक कार्यक्रमका बिच ‘राष्ट्रिय शिक्षक तथा टुरिज्म लाइफ टाइम सम्मान–२०७९’ द्वारा चापागाईँलाई सम्मान तथा पुरस्कृत गरेको हो । चापागाईँलाई नगद ५० हजारसहित सम्मान पत्र प्रदान गरिएको फाउण्डेशनले जनाएको छ । फाउण्डेशनले चापागाईँ कार्यरत विद्यालय आदर्श माविलाई १० हजार मूल्य बराबरको शैक्षिक सामाग्रीसमेत प्रदान गरेको छ ।
२०६० सालबाट शिक्षण पेशामा आबद्ध चापागाईँ पवित्रा–भेषराज खतिवडा स्मृति उत्कृष्ट शिक्षक २०७८ बाटसमेत पुरस्कृत भइसकेकी छिन् ।
फाउण्डेशनले चापागाईँसहित शिक्षकहरु मधेश प्रदेशका खड्कबहादुर श्रेष्ठ, गण्डकी प्रदेशका सुरज लम्साल, लुम्बिनी प्रदेशका जमुना पाण्डेय भण्डारी, कर्णाली प्रदेशका भुपालसिंह ठकुरी र सुदुरपश्चिमका रामदत्त जोशीलाई समेत पुरस्कृत गरेको छ ।
त्यस्तै, फाउण्डेशनले पर्यटनको क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएको भन्दै ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ मरणोपरान्त ज्योतीलाल खन्नालाई प्रदान गरेको छ । खन्ना यति ट्राभल्सको निर्देशकको रुपमा कार्यरत रहेका थिए ।
फाउण्डेशनका संरक्षक शारदा प्रसाईको अध्यक्षता तथा नेपाली कांग्रेसका महामन्त्री थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमलाई फाउण्डेशनका अध्यक्ष शिखर प्रसाईले स्वागत गरेका थिए ।