२०७९ मंसीर २३ गते , शुक्रबार

स्थापनाको अवसरमा इक्यानद्वारा रक्तदान आयोजना

sajilo news
परिवेश मिडिया
२०७९ भाद्र १३ गते , सोमबार
स्थापनाको अवसरमा इक्यानद्वारा रक्तदान आयोजना

बिर्तामोड । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाले स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । संघको २६ औं स्थापना दिवसको अवसरमा देशभर रहेका जिल्ला शाखाहरुले विभिन्न कार्यक्रम गर्दै स्थापना दिवस मनाएका हुन् ।
झापामा पछिल्लो समय रगतको अभाव भएको भन्दै सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम गरेर स्थापना दिवस मनाएको इक्यान झापाका अध्यक्ष मिलन ओलीले बताए । रक्तदान जीवनदान भन्ने नाराका साथ बिर्तामोडस्थित दुर्गा मन्दिर परिसरमा आयोजना गरिएको रक्तदानमा ४० जनाभन्दा धेरैले रक्तदान गरेका छन् । 
इक्यान झापाका अध्यक्ष ओलीको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड-५ का वडाध्यक्ष रोहित प्रसाईं, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, इक्यान झापाका उपाध्यक्ष एवम् बिर्तामोड-३ का वडाध्यक्ष मदन बुढाथोकी, नेपाल औषधी ब्यवसायी संघका महासचिव जीवन खड्का, नेल्टा झापाका अध्यक्ष धर्मेन्द्र भट्टराई(मामा), इक्यान झापाका निर्वतमान अध्यक्ष सुमन शर्मा जमरकट्टेलसहित इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।
शैक्षिक क्षेत्रमा विभिन्न काम गर्दै आएको इक्यानले मानवीय सेवा अन्तर्गत रक्तदान कार्यक्रम गरेको भन्दै प्रमुख अतिथी समेत रहेका बिर्तामोड-५ का वडाध्यक्ष प्रसाईंले प्रशंसा गरे । उनले शैक्षिक परामर्शका नाममा विभिन्न ठगीका घटनाहरु बढेको भन्दै विद्यार्थीलाई इक्यानमा रहेका संस्थाहरुको आधिकारीकता बुझेर मात्रै विदेश अध्ययनका लागि जान सुझाव समेत दिए । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष शिवाकोटीले शिक्षाका साथै सामाजिक सेवाका क्षेत्रमा इक्यानले पुर्याएको योगदान प्रशंसनीय रहेको विचार ब्यक्त गरे । उनले इक्यान झापाले छोटो समयमा धेरै काम गरेको भन्दै हरेक क्षेत्रमा सहकार्य गर्न तयार रहेको उल्लेख गरे ।

सम्बन्धित समाचार