२०८१ जेष्ठ ६ गते , आईतबार

स्वास्थ्य बीमा थप प्रभावकारी बनाउन १७ बुँदे नीति तथा कार्यक्रम

sajilo news
परिवेश मिडिया
२०७९ श्रावण ५ गते , विहीबार
स्वास्थ्य बीमा थप प्रभावकारी बनाउन १७ बुँदे नीति तथा कार्यक्रम

काठमाण्डौ । स्वास्थ्य बीमा बोर्डले बीमा कार्यक्रमलाई थप प्रभावकारी र व्यवस्थित बनाउँदै विस्तार गर्न चालु आर्थिक वर्षका लागि १७ बुँदे नीति तथा कार्यक्रम ल्याएको छ। बोर्डले बीमा कार्यक्रमलाई सरल, प्रभावकारी र एकरुपताका लागि विद्युतीय मेडिकल रेकर्ड (इएमआर) लागू गर्नेदेखि प्रभावकारी दाबी मूल्यांकनका लागि तेस्रो पक्ष व्यवस्थापन प्रविधि लागू गर्ने भएको छ।
बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले नीति तथा कार्यक्रम अध्यक्ष डा. सेनेन्द्रराज उप्रेतीलाई बुझाइसकेका छन्। १७ बुँदे नीति तथा कार्यक्रममा यो आर्थिक वर्षभित्रमा ५० प्रतिशत परिवारलाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गराइने विषय उल्लेख छ। हालसम्म बीमा कार्यक्रममा १७ लाख ४३ हजार ४७ परिवार अर्थात ३२ दशमलब १४ प्रतिशत परिवार र ५६ लाख ५७ हजार ७२५ अर्थात २१ दशमलब ३५ प्रतिशत नागरिक आवद्ध भएका छन्।
बोर्डको नीति तथा कार्यक्रमको पहिलो नम्बर बुँदामा बोर्डले पेश गरेको प्रस्तावित स्थायी संगठन संरचना स्वीकृतिका लागि सम्बन्धित निकायमा पहल गरिने विषय छ। स्थायी संगठन संरचना स्वीकृत नहुँदासम्म आवश्यकता अनुसारको अस्थायी दरबन्दी संरचना तयार गरी स्वीकृतिका लागि पेश गरिने साथै स्वास्थ्य बीमा बोर्डको कार्मचारी विनियमावली तथा आर्थिक कार्यविधि तयार गरिने विषय रहेको छ।
बोर्डले स्वास्थ्य सेवा प्रदायकले दाबी गर्दा सरल, प्रभावकारी र एकरुपताका लागि स्वास्थ्य बीमा बोर्डबाट उपयुक्त किसिमको इएमआर सफ्टवेयर निर्माण गरि लागू गर्ने साथै बीमा सूचना प्रविधिको लागि नयाँ सफ्टवेयर निर्माण गर्ने विषय पनि नीति तथा कार्यक्रममा छ।
यसैगरी, दाबी फर्छ्यौट प्रक्रियालाई प्रभावकारी बनाउन तेस्रो पक्ष व्यवस्थापन (टिपिए)को विषय राखिएको छ। 'स्वास्थ्य बीमा कार्यक्रममा सेवाग्राहीको संख्या दिनानुदिन बढ्दै गइरहेको परिप्रेक्षयमा हाल संचालित दाबी मूल्यांकन प्रक्रियाबाट रकम भुक्तानी गर्दा धेरै समय व्यतित भै दाबी फर्छ्यौट प्रक्रियामा ढिलाई भएको यथार्थलाई मनन गरी दाबी मूल्यांकनको लागि तेस्रो पक्ष व्यवस्थापन प्रविधिलाई परीक्षण गरि लागू गरिनेछ,' नीति तथा कार्यक्रममा उल्लेख छ।

सम्बन्धित समाचार