पाँचथरमा पहिरोमा पुरिएर एक जनाको मृत्यु , २ जना बेपत्ता
फिदिम । अविरल वर्षापछि माथिबाट खसेको पहिरोले घर पुरिँदा पाँचथरको फालेलुङ गाउँपालिका-७ मा एक जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन् ।
गएराति सवा १० बजेतिर सिदिन बजारनजिकै रहेको रुपलाल मगरको घर पहिरोले पुर्दा तीन जना बेपत्ता भएका थिए ।
पाँचथरका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेका अनुसार पहिरोमा ४२ वर्षीय रुपलाल मगर, उनको ३८ वर्षीय श्रीमती गोमा मगर र १९ वर्षीया भतिजी एलिसा मगर बेपत्ता भएका थिए। आज बिहान रुपालालको शव फेला परेको र अरू दुई जना अझै बेपत्ता रहेको प्रमुख जिल्ला अधिकारी न्यौपानेले जानकारी दिए ।
रूपलालका काका ७१ वर्षीय दलप्रसाद मगर भने पहिरोबाट उछिट्टिएर बाँच्न सफल भएका छन्। घर माथिबाट झरेको पहिरोले ढुंगामाटोले बनेको घर तथा गोठ बगाएको फालेलुङ गाउँपालिकाका अध्यक्ष विरविक्रम थाम्सुहाङले जानकारी दिए । घटनास्थलमा अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले बेपत्ताको खोजी गरिरहेको बताइएको छ।