वैदेशिक रोजगारको क्रममा मेनपावरबाट ठगीका घटना बढी
काठमाण्डौ । वैदेशिक रोजगारमा जानेहरू व्यक्तिगतभन्दा म्यानपावरमार्फत बढी ठगिएको पाइएको छ । आप्रवासी श्रमिकहरूलाई निःशुल्क कानुनी सहायता गर्दै आएको संस्था पिपुल फोरमको तथ्यांकले यस्तो देखाएको हो ।
फोरमले सुरक्षित आप्रवासन परियोजनाअन्तर्गत जेठ मसान्तसम्म दुई हजार आठ सय ५४ जना वैदेशिक रोजगारका ठगी पीडितहरूलाई निःशुल्क कानुनी सहायता सहजीकरण सेवा प्रदान गरेको छ । पीडितहरूले विभिन्न मुद्धामा ८० करोड ६९ लाख ३३ हजार ८८० बराबर क्षतिपूर्ति प्राप्त गरेका छन् ।
यहाँ कानुनी सहायताका लागि आएका मध्ये एक हजार तीन सय ७६ व्यक्तिमार्फत ठगिएका परियोजनाका संयोजक सुदीप देवकोटाले बताए। तथ्यांक हेर्दा म्यानपावरमार्फत ठगिनेको संख्या धेरै देखिन्छ ।
म्यानपावरमार्फत ठगिएका एक हजार चार सय ७८ जना छन्। यो संख्या हेर्दा करिब ५२ प्रतिशत म्यानपावरमार्फत र ४८ प्रतिशत व्यक्तिगतमार्फत ठगिएका हुन् ।
सोही अवधिमा कानुनी सहायतामा उद्धारका मुद्धा चार सय ५२ रहेकोमा एक सय ३७ जनाले मात्रै न्याय पाएका छन्। त्यस्तै, पासपोर्ट जफतका १०४ घटना आएकोमा हालसम्म ५१ जनाले फिर्ता पाएका छन् ।
ठगीका एक हजार ६ सय ९२ मुद्धा परेकोमा ७० मात्र फछ्र्यौट भएको देखिन्छ। पिपुल फोरमका संस्थापक एवम् सल्लाहकार अधिवक्ता सोमलुइँटेलले पछिल्लो समय फोरमले मानव बेचबिखनका मुद्धामा पनि निःशुल्क कानुनी सहायता प्रदान गर्न थालेको बताउँछन् ।
उनका अनुसार हालसम्म फोरमले ६४ जना यस्ता पिडितहरूलाई निःशुल्क सेवा दिएको छ । उनले पछिल्लो समय वैदेशिक रोजगारमा जोखिम बढ्दै गएकाले सरोकारवाला सबैले ध्यान र्पुयाउनुपर्ने बताए ।
सरकारका कतिपय नीतिकै कारण पनि वैदेशिक रोजगारमा जाने युवाहरूले न्याय पाउन कठिन भइरहेको उनले बताए। अधिवक्ता सुदीप देवकोटाले साउदीमा नेपाली श्रमिकहरू समस्या पर्ने क्रम बढेको बताए । त्यस्तै, वैदेशिक रोजगारमा जाने श्रमिकहरूको मृत्युदर पनि बढेको पाइएको उनले बताए ।