असार १५ : आज १९औँ राष्ट्रिय धान दिवस
बिर्तामोड । असार १५ गते आज १९औँ राष्ट्रिय धान दिवस मनाईँदैछ । ‘धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने नाराका साथ धान दिवस मनाउन लागिएको हो ।
झापाको कमल गाउँपालिकामा धान दिवस मनाइँदैछ । कृषि ज्ञान केन्द्र झापा र कमल गाउँपालिकाको आयोजनामा लखनपुर साना किसान कृषि सहकारी संस्थाको समन्वयमा कमल गाउँपालिका वडा नम्बर ७ लालधन्द्रामा दिवस मनाउन लागिएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिए । धान दिवसमा प्रदेश १ का कृषि मन्त्री झलकसिं दर्लामीको प्रमुख आतिथ्यता रहने बताइएको छ । कार्यक्रममा कृषि मन्त्रालयका सचिव मेघनाथ तिमल्सेना, गाउँपालिका अध्यक्ष, कर्मचारीहरु सहभागि हुने विष्टले बताए ।
झापाको ८७ हजार ५ सय हेक्टरमा धानबाली लगाइने गरेको छ । गत बर्ष ९५ प्रतिशत क्षेत्रमा धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र झापाका बागबानी विकास अधिकृत अंकित भट्टराईले जानकारी दिए । उनका अनुसार यो बर्ष हालसम्म ३०–३५ प्रतिशत खेतमा रोपाईँ सकिएको छ । निरन्तरको बर्षाका कारण रोपाइँ गर्न केहि कठिनाई भएको उनले बताए ।
रोपाईँ गर्ने आधा समय सकिँदा समेत कृषकले मल पाउन सकेका छैनन् । बजारमा सहजरुपमा मल उपलब्ध नहुँदा सीमावर्ती क्षेत्रका किसान महँगो मूल्यमा भारतीय बजारमा मल किन्न बाध्य छन् ।
झापामा १ हजार ४५० मेट्रिक टन डीएपी मल उपलब्ध गराएको र सबै स्थानीय तहमा कोटा निर्धारण गरेर पठाइसकिएको अधिकृत भट्टराईले जानकारी दिए । डीएपीसँगै युरिया मल आवश्यक हुने भएपनि हालसम्म उपलब्ध हुन नसकेको उनको भनाई छ ।
कृषकहरुले विक्री गर्ने उद्धेश्यले मोटा धान रोप्ने तर आफुले मसिनो धान उपभोग गर्ने हुँदा आयात नरोकिएकाले धानको विभिन्न प्रजाति रोप्ने लक्ष्यका साथ यस बर्षको नारा कायम गरिएको बताइएको छ ।