बैठक प्रत्यक्ष प्रशारण गर्न माग गर्दै हल्दिबारीमा निवेदन
बिर्तामोड । हल्दिबारी गाउँपालिकाको असार १० गते हुने गाउँसभा प्रत्यक्ष प्रशारण गर्न माग गर्दै निवेदन दर्ता भएको छ । नेकपा माओवादी केन्द्र हल्दिबारी–२ का अध्यक्ष खकेन राजवंशीले वैठक लाइभ गर्न माग गर्दै पालिकामा निवेदन दिएका हुन् ।

राजवंशीले असार ८ गते निवेदन दर्ता गराएको पालिकाले जनाएको छ । ‘हल्दिबारीबासी आम नागरिकलाई गाउँपालिकाको हरेक गतिविधी जानकारी गराउन जनप्रतिनिधीहरुलाई सचेत गराउन र जिम्मेवार बनाउन, भ्रष्टाचार न्यूनीकरण र अन्त्य गर्न सबै सूचना सार्वजनिक गर्न पार्टीले ठहर गरेको छ,’ राजवंशीले निवेदनमा उल्लेख गरेका छन् । नागरिकको चेतना बलियो बनाउन सकेमा पारदर्शिता कायम हुने र पारदर्शिताले सामाजिक न्याय र विकासको प्रत्याभूति दिँदै हल्दिबारीको चौतर्फी विकास हुने भन्दै गाउँसभा लाइभको माग गरेको राजवंशीले बताए ।
‘महान जनयुद्धको जग र मधेश आन्दोलनको राप र तापबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्ति पश्चात संघीय अवधारणाको मर्म अनुसार केन्द्रिकृत शासन प्रणालीलाई विकेन्द्रिकरण गर्दै साधारण जनताले समेत सरकारको महसुस गर्न सकोस भन्ने उद्धेश्यले स्थानीय सरकारको परिकल्पना गर्दै हालै स्थानीय सरकोरको दोस्रो निर्वाचन समेत सम्पन्न भइसकेको परिप्रेक्षमा जनताको आधारभूत विषय, चासो र गुनासोसँग जोडिएको सरकारको रुपमा रहेको स्थानीय तहको गाउँसभाको बैठक यहि असार १० गते विहान ११ बजे रहेको सूचना प्राप्त भएकोमा नेपालको संविधानको धारा २७ तथा सूचनाको हक सम्बन्धि ऐन २०६४ को दफा ३ र ७ अनुसार सूचनाको हकको संविधानमा व्यवस्था गरिएको नागरिकको मौलिक हक हो । साथै नागरिकलाई सूचना तथा सुसूचित गर्ने सार्वजनिक निकायको दायित्वपनि हो ।’ निवेदनमा उल्लेख गरिएको छ ।
उनले राष्ट्रिय सूचना आयोग र जिल्ला प्रशासन कार्यालय झापालाई निवेदनको बोधार्थ दिएका छन् ।