मापसे गरेर सवारी चलाउने चालकलाई पाँच हजार जरिवाना
बिर्तामोड । सवारी साधन दुर्घटना न्यूनीकरण गर्ने उद्धेश्यले ट्राफिक चेकजाँचमा कडाई गरिने भएको छ । झापामा आज (शुक्रबार) बाट मादक पदार्थ सेवन गरेर सवारी साधन चलाएको पाइएमा सचेतना कक्षामा अनिवार्य उपस्थित गराउनुका साथै पाँच हजारसम्म जरिवाना गरेर छाडिने भएको हो ।
शुक्रबार जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले ‘मादक पदार्थ सेवन गरी सवारी नचलाउँ’ कक्षा सञ्चालन शुभारम्भ कार्यक्रम गरी सचेतना कक्षा सम्बन्धि जानकारी दिएको हो । झापाका प्रमुख जिल्ला अधिकारी छवि रिजालको निर्देशनमा कार्यक्रम शुरु गरिएको हो । कार्यक्रममा बोल्दै प्रजिअ रिजालले मादक पदार्थ सेवन गरेका सबै चालकलाई सचेतना कक्षामा सहभागी गराइ राजश्व तिराएर मात्र छाड्न ट्राफिक प्रहरीलाई निर्देशन दिए । ‘भिआइपीको नाममा मापसे गरेका कुनैपनि चालकलाई नछाड्नुहोला,’ उनले भने,‘कानूनको नजरमा सबै बराबरी हुन्, कारबाही नगरी छाडेको पाइएमा राम्रो मान्दिन ।’ उनले प्रशासन कार्यालयमा दैनिक रिपोटिङ गर्न समेत ट्राफिक कार्यालयलाई निर्देशन दिए ।
कार्यक्रमका अध्यक्ष इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक रुगमबहादुर कुँवरले मादक पदार्थको सेवन गरेर सवारी चलाउँदा धनजनको ठूलो क्षति हुने भन्दै त्यसलाई कडाइका साथ नियन्त्रण गरिने बताए । सवारी दुर्घटनामा थुप्रै पक्ष जिम्मेवार हुने भन्दै चालक एउटा पक्ष रहेको बताए ।
कार्यक्रमको औचित्य पुष्टि गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अशोक जबेगुले एक दशकमा सवारी साधन दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या दोब्बरले बढेको तथ्याङ्क प्रस्तुत गरे । उनले सचेतना कक्षाले चालकलाई जिम्मेवार बनाउने विश्वास व्यक्त गरे ।
प्रदेश सवारी ऐनको परिच्छेद १० मा रहेको सजाय सम्बन्धि व्यवस्थाको उपदफा (३) मा मादक पदार्थ सेवन गरी सवारी चलाएमा सडक कसुर गरेको मानिने र पाँच हजार रुपैँयासम्म जरिवाना गरिने उल्लेख गरिएको छ । सार्वजनिक सवारी साधन चलाउने चालकले एक पटक भन्दा बढी मादक पदार्थ सेवन गरी सवारी चलाएमा चालक अनुमति पत्र खारेज गर्न सकिने व्यवस्था रहेको यातायात व्यवस्था कार्यालय झापाका प्रमुख हरि लामिछानेले जानकारी दिए । प्रदेश सवारी ऐनको दफा ३० को (च) मा त्यस सम्बन्धि व्यवस्था रहेको उनले बताए ।