माओवादी केन्द्रले दमकमा बुझायो १९ बुँदे ज्ञापन पत्र
बिर्तामोड । नेकपा माओवादी केन्द्र दमक नगर कमिटीले दमक नगरपालिकामा १९ बुँदे ज्ञापन पत्र बुझाएको छ । दमकको विकास र समृद्धिका लागि स्थानीय तयले गर्ने सबै राम्रा र जनपक्षीय एजेण्डाहरुमा माओवादी केन्द्र साथमा हुने भन्दै ज्ञापन पत्र बुझाएको हो ।
माओवादी केन्द्रले विगतमा सभ्य, समुन्नत र समृद्ध नगर निर्माणका लागि भूमिका निर्वाह गर्दै आएको जनाएको छ । यस अघिका सरकारले एक पक्षीय ढंगले कार्य गरेको भन्दै आगामी दिनमा नवनिर्वाचित जनप्रतिनिधीहरुले सर्वपक्षीय छलफल र संवादबाट समस्याहरुको निकास खोज्न आग्रह गर्दै पार्टी नगर इञ्चार्ज बेदु गौतम र अध्यक्ष कुलबहादुर बस्नेत (रवि)ले ज्ञापन पत्र बुझाएका छन् ।
१९ बुँदा रहेको विज्ञप्ति तल उल्लेख गरिएको छ :
भूमिहीन सुकुम्बासी, भूमिहीन दलित, अव्यवस्थित बसोबासीहरुको तथ्याङ्क प्रमाणित गरी भूमि आयोगसँगको समन्वयमा तत्काल जग्गा धनीपूर्जा उपलब्ध गराई गरिबहरुलाई पनि सगर्व नगरबासी भन्न पाउने कुराको ग्यारेण्टी गर्दै स्वास्थ्य, शिक्षा, बिजुली, खानेपानीलाई निशुल्क गर्नुका साथै रोजगारी र सडकमा उनीहरुको सहज पहुँच विकास गरियोस् ।
अर्बौँको लगानीमा निर्माण भएको दमक भ्यु टावरको संरचनालाई उपयोग गरी मेडिकल कलेज सहितको प्रादेशिक अस्पताल संचालनका लागि यथाशिघ्र पहल गरियोस् ।
सडक, खानेपानी, बिजुली नपुृगेको सम्पुर्ण बस्तीहरुमा अत्यावश्यकीय सुविधाहरुको प्रबन्ध गरी नगरभित्र भएका सम्पूर्ण सुकुम्बासी बस्तीहरुमा आवगमनमा सहजताका लागि इन्टरलक टायल सहितका सडकहरु आगामी आर्थिक वर्षभित्र निर्माण सम्पन्न गरियोस् ।
सेनेटरी प्याड लगायत अन्य वस्तुको खरिद तथा वितरणको सम्बन्धमा भएको भ्रष्टाचारमा संलग्न दोषीलाई कारबाही गरियोस् । नगरपालिका मार्फत प्रदान गरिने सम्पुर्ण सेवाहरु चुस्त दुरुस्त बनाउँदै सबैखाले आर्थिक अनियमितता नियन्त्रण गर्नुका साथै कर्मचारीहरुलाई दमकेली जनताहरुप्रति उत्तरदायी बनाउन आवश्यक नियमन गरियोस् ।
नगरभित्रका सम्पूर्ण कच्ची सडकहरुलाई ग्राभेल र ग्राभेल सडकहरुलाई पक्की गर्ने कार्य यथाशक्य अगाडि बढाइयोस् । नगरपालिकाभित्र सडक तथा ढल निर्माण गर्दा भत्काइएका सडकहरु तुरुन्त मर्मत गर्दै निर्माणका योजनाहरुमा एउटा निकायले बनाउनासाथ अर्र्को निकायले भत्काउने परिपाटीको अन्त्य गरी विकासको मोडल परिवर्तन गरियोस् ।
किसानहरुलाई मल, बीउ, प्रविधिको समयमै उपलब्ध हुने वातावरण मिलाई, बाली र पशु विमा, कृषि औजार उपकरणमा सहुलियत उपलब्ध गराई युवालाई कृषिमा आकर्षित गर्ने योजना तय गरियोस् । सामुहिक रुपमा बैज्ञानिक कृषिको अवधारणलाई थप विस्तार र विकास गर्न सम्पुर्ण उत्पादनमा अनुदानको प्रबन्ध गरियोस् ।
लामो समयदेखि बेवास्ता गरिएका सबै सामुदायीक विद्यालय व्यवस्थापन समितिहरु यथाशीघ्र गठन गरियोस र विद्यालयमा हुने चरम बेथिति तथा भ्रष्टाचारको नियन्त्रण एवम छानविन गरि दोषी उपर कारबाही गरियोस् ।
बर्षौँदेखि विवादित रहेको पूर्वाधार शुल्कको नाममा लिइने पटके सवारी कर तुरुन्त खारेज गरी दमकबासी आम जनसमुदाय एवम् व्यवसायीमाथि लगाइएको चर्को अवैज्ञानिक कर तत्काल नियन्त्रण गरियोस् । नगरपालिकाले फोहोरमैला व्यवस्थापन जस्तो विषय निजी क्षेत्रलाई सुम्पिएर आफ्नो जिम्मेवारीबाट पन्छिएको यथार्थ एकातिर हुँदाहुदै जनतालाई करमाथि कर थोपर्ने गरी लगाएको फोहोरमैला शुल्कसमेत तुरुन्त हटाइयोस् ।
कक्षा १२ सम्मको शिक्षालाई गुणस्तर कायम गरी निःशुल्क गरियोस् । साथै निजी विद्यालयको शुल्कमा एकरुपता कायम गरी जनताको पँहुच योग्य बनाइयोस् । साथै निजी विद्यालयमा नगरपालिकाको सिफारिसमा १० प्रतिशत छात्रवृत्तिको व्यवस्था अनिवार्य गरियोस् ।
स्थानीय खोलानाला, जमिन आदिको पहिचान गर्ने, खोलानालाको सौन्दर्यकरण गरी पर्यटनको विकास र प्रवद्र्धन गर्ने कार्यक्रम आगामी आर्थिक बर्षभित्र ल्याइयोस । साथै विकराल समस्याको रुपमा रहेको रतुवा र मावा नदिबाट हुने क्षति नियन्त्रण गर्न आवश्यक बजेटको व्यवस्था गरियोस ।
५ वर्ष भित्रमा ५ हजार जना नगरबासीहरुलाई रोजगार दिनसक्ने गरी रोजगारी सिर्जना हुने उत्पादनमुलक कार्यक्रम सञ्चालन गरियोस् ।
दमक नगरपालिकाभित्रको ट्राफिक व्यवस्थापनलाई चुस्तदुरुस्त गर्ने, सडक बत्ति र जेब्रा क्रसको व्यवस्था गर्ने साथै बजार क्षेत्रमा आवश्यकता अनुसार पार्किङ स्थलको निर्माण गरियोस् ।
दमक अस्पतालमा भएको अस्तव्यस्त अवस्थालाई हल गर्दै स्वास्थ्य सुविधा पाउने जनताको नैसर्गिक अधिकारको सम्मान गर्न चुस्त र सर्वसुलभ सेवा प्रदान गरियोस् । स्वस्थ्य बिमा मार्फत सेवा लिन आउने सेवाग्राहीलाई समयमै भरपर्दाे सेवा पाउने ग्यारेण्टी गरियोस् । बिपन्न परिवारका निम्ति निशुल्क स्वस्थ्य बिमाको ग्यारेण्टी गरियोस् ।
नगरभित्रका मजदुरहरु पञ्जीकरण गरी परिचय पत्रको व्यवस्था एवम् निःशुल्क जिवन वीमा गरियोस् ।
कला, संस्कृति र साहित्यको संरक्षण गरियोस । रगत र रक्तदान सम्बन्धि सचेतना कार्यक्रम, नेतृत्व विकास तालिम, अभिनय प्रशिक्षण कार्यशाला, कला र साहित्यको महोत्सव, बौद्धिक बहस कार्यक्रम जस्ता समाज कल्याण सम्बन्धि कार्यक्रम नियमित गरियोस् ।
लैङ्गिक, जातीय तथा सबै प्रकारका विभेद अन्त्य गर्नका लागि सशक्तिकरण सम्बन्धि कार्यक्रम ल्याइयोस् ।
सुरक्षाको दृष्टिकोणले अति संवेदनशिल दमक बजारका सम्पूर्ण क्षेत्रमा सीसीटीभी जडान गरी सुरक्षाको ग्यारेण्टी गरियोस् । अत्यावश्यकीय क्षेत्रमा सार्वजनिक शौचालय र खानेपानीको व्यवस्थापन गरियोस् ।
मावा, रतुवा लगायत अन्य खोला र सार्वजनिक सम्पति माथिको दोहन र अतिक्रमण नियन्त्रण गरी संरक्षण गर्ने नीति ल्याईयोस् । बर्षायाममा दमक क्षेत्रमा हुने डुबानको समस्या समाधान गर्न तत्काल योजना बनाएर लागू गरियोस् ।
सार्वजनिक स्थलमा खुल्ला क्षेत्रको महत्वलाई मध्यनजर गरी दमकका विभिन्न ठाउँमा प्रदर्शनीस्थल तथा खुल्ला पार्कको निर्माण गरियोस् । साथै दमक ९ मा निर्माणाधिन सभागृहलाई फाल्गुनन्द सभागृह नामाकरण गरियोस ।