राज्यको कमजोरी औँल्याउँदै चेप्टीमा अतिक्रमण
बिर्तामोड । पछिल्लो समय चर्चामा रहेको इलामको माइ नगरपालिकास्थित चेप्टीमा अवस्थित ह्याप्पी ड्रिम्स प्रा.लि.ले सरकारको कमजोरी औँल्याउँदै सरकारी जग्गा अतिक्रमण गरेको पाइएको छ । प्रालिले आफ्नो बिषयमा सञ्चारमाध्यमहरुमा सरकारी जमिन अतिक्रमण गरेको, सामुदायिक वनको रुख कटान गरेको समाचार प्रशारण भएपछि निकालेको विज्ञप्तिमा चुरे संरक्षणमा सरकारी कमजोरी औँल्याइएको हो ।
केहि दिन अघि सगरमाथा टेलिभिजन, ग्यालेक्सी फोर के लगायत स्थानीय सञ्चारमाध्यमहरुमा ह्याप्पी ड्रिम्स प्रालिले सरकारी जमिन अतिक्रमण गरी फनपार्क निर्माण गरिरहेको र काँचो सखुवाको काठ समेत काटेको समाचार प्रकाशन प्रशारण भएपछि कम्पनीले विहिबार समाचारको खण्डन गर्दै विज्ञप्ति जारी गरेको हो । विज्ञप्तिमा प्रालिले सरकारी जमिन उपभोग गरेको स्वीकार गरेपनि सरकारको कमजोरी औँल्याएको हो ।
विज्ञप्तिमा चुरे क्षेत्रको संरक्षणमा सरकारी संयन्त्र उदासिन बन्दै गएको भन्दै सरकारको कमजोरी औँल्याइएको छ । ‘बाढी पहिरोका कारण भू–क्षयमा परि ठूलो क्षति हुँदै आएको साथै यस जमिनको सुरक्षा र यहाँको हजारौँ बोट विरुवाको संरक्षण गरी त्यस क्षेत्रमा थप बोट विरुवा लगाउने कार्यका विरुद्ध गलत प्रचार गर्नु कतिको सान्दर्भिक होला ?’ भन्दै विज्ञप्तिमा प्रति प्रश्न समेत गरिएको छ ।