पत्रकारलाई हतोत्साहित बनाउने कार्य नगर्न पत्रकार महासंघको चेतावनी
बिर्तामोड । समाचारको बिषयलाई लिएर नेकपा एमालेका इलामको माई नगरपालिकाका अध्यक्ष खम्बसिं लिम्बू र उपाध्यक्ष नरेन्द्रबहादुर खड्काले पत्रकारलाई हतोत्साहित बनाउने कार्य गरेकोप्रति नेपाल पत्रकार महासंघ झापा शाखाले ध्यानाकर्षण भएको जनाएको छ । शाखाले आज एक विज्ञप्ति जारी गरि समाचारको बिषयलाई लिएर लिम्बू र खड्काले सार्वजनिक रुपमा प्रेस स्वतन्त्रता विरोधी कार्य गरेको भन्दै ध्यानाकर्षण भएको जनाएको हो ।
पत्रकार पुजन घिमिरेले आफू आबद्ध सगरमाथा टेलिभिजनमा माइ-२ र ८ चेप्टिमा रहेको ह्याप्पी ड्रीम्स प्रा. लि. ले निर्माण गरिरहेको फनपार्कले सरकारी जग्गा मिचेको बिषयमा समाचार प्रशारण गरेका थिए ।
समाचारमा माई नगरपालिकाका प्रमुख समेत रहेका खम्बसिं लिम्बूसमेतको प्रा.लि.मा अदृश्य शेयर रहेको र उनीहरुकै संलग्नतामा सामुदायिक वनको काँचो रुख समेत फँडानी गरेको बिषय उल्लेख गरेपछि लिम्बूले जेठ २२ र खड्काले जेठ २४ गते पत्रकारको नामै उल्लेख गरि समाचार कपोकल्पित र भ्रामक भएको भन्दै विज्ञप्ति जारी गरेका थिए ।
महासंघले समाचारको बिषयमा चित्त नबुझेमा कानूनी उपचार खोज्ने बाटो र मान्यता हुँदा हुँदै पत्रकारलाई धम्क्याउँदै निरुत्साहित गर्ने कार्य प्रेस स्वतन्त्रता विरोधी भएकाले प्रेस अधिकारको सम्मान गर्न र आगामी दिनमा त्यस्तो कार्य नगर्न सचेत गराएको छ ।