प्रेस युनियन झापाद्वारा दुई सञ्चारकर्मी पुरस्कृत
बिर्तामोड । नेपाल प्रेस युनियन झापा शाखाले दुई जना सञ्चारकर्मीलाई पुरस्कृत गरेको छ । युनियनले बार्षिक साधारणसभाको अवसरमा सञ्चारकर्मीलाई पुरस्कृत गरेको हो ।
पत्रकारहरु गोविन्दचन्द्र क्षेत्री र जोस्ना श्रेष्ठ पुरस्कृत भएका हुन् । त्यस्तै कार्यक्रममा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि, पुरस्कार अक्षयकोषका दाता तथा संस्थाले पत्रकारहरुको बृहत्तर हित तथा बहुउद्देश्यीय लक्ष्य राखेर स्थापना गरेको ‘नेपाल प्रेस युनियन पत्रकार अक्षयकोष’ बृद्धिका लागि सहयोग गर्ने दाताहरुलाई समेत सम्मान गरको थियो ।
नेपाल प्रेस युनियनका केन्द्रीय पार्षद यज्ञप्रसाद र सकुन्तला पाठकले दिवंगत बुबाआमा टंकप्रसाद र रमादेवी पाठकको स्मृतिमा स्थापना गरेको टंकप्रसाद–रमादेवी पाठक स्मृति पत्रकारिता पुरस्कारबाट भद्रपुरबाट प्रकाशित नयाँ सन्दर्भ साप्ताहिकका सम्पादक गोविन्दचन्द्र क्षेत्री तथा टीकादेवी–कृष्णकुमार संग्रौलाले स्थापना गरेको रमादेवी–टंकप्रसाद स्मृति पत्रकारिता पुरस्कारबाट रेडियो विराटमा कार्यरत जोस्ना श्रेष्ठलाई पुरस्कृत गरिएको हो । यसै वर्षदेखि वितरण प्रारम्भ गरिएको पुरस्कारको राशी जनही ११ हजार एकसय रुपैयाँ नगद रहेको छ । त्यसैगरी अक्षयकोषका दाताहरु शिव कँडेल, पार्वता खरेल विमली, गंगाप्रसाद मैनाली, कृष्ण गिरीलगायतलाई सम्मान गरिएको कार्यक्रममा पुरस्कार अक्षयकोषका दाता यज्ञप्रसाद–सकुन्तला पाठक, टीकादेवी–कृष्णकुमार संग्रौलालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा स्थानीय तहमा निर्वाचित गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशी, झापा गाउँपालिकाकी उपाध्यक्ष अन्जु थपलियासहितलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
नेपाल प्रेस युनियन झापा शाखाकी अध्यक्ष इन्दु पूर्वेलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेश १ का भूमि, सहकारी तथा गरीवी निवारण मन्त्री ओमप्रकाश सरावगी, गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष राजवंशी, झापा गाउँपालिका उपाध्यक्ष थपलिया, नेपाल पत्रकार महासंघ प्रदेश १ का कोषाध्यक्ष विमल लामिछाने, पुरस्कृत प्रतिभा तथा प्रेस युनियनका केन्द्रीय सदस्य गोविन्दचन्द्र क्षेत्री, नारी सञ्चार गृहकी अध्यक्ष भीमा शिवाकोटी, पुरस्कार अक्षयकोषका दाताका तर्फबाट कृष्णकुमार संग्रौला, प्रेस युनियन पत्रकार प्रोत्साहन अक्षयकोषका दाताका तर्फबाट शिव कँडेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।