साउदी सरकारको निर्णयानुसार हज यात्रीको शुल्क वृद्धि भएको स्पष्टोक्ति
काठमाण्डौ । साउदी अरब सरकारले निर्धारण गरे अनुसारनै हज यात्रा गर्नका लागि शुल्क निर्धारण गरिएको नेपाल हज समितिले बताएको छ । शुल्क वृद्धि गरेर समितिका पदाधिकारीहरुले अनियमितता गरेको चर्चा चलेपछि समितिले त्यसबारे स्पष्ट पारेको हो ।
नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँले साउदी अरब सरकारले निर्धारण गरे अनुसारनै मक्कामा हज यात्राका लागि शुल्क निर्धारण गरिएको प्रष्ट्याएका हुन् । उनले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी साउदी अरब सरकारको निर्णय अनुसारनै यस वर्षको हज यात्राका लागि शुल्क वृद्धि भएको पनि स्पष्ट पारे ।
उनले साउदी अरब सरकारले नै वृद्धि गरेर शुल्क निर्धारण गरेको र सोही अनुसार अघि बढ्दा हजयात्राका लागि शुल्क वृद्धि हुन पुगेको उल्लेख गरे । अध्यक्ष मियाँले यस वर्षको हजयात्रीहरुलाई आगामी असार १५ गते भित्र मक्का र्पुयाई सक्ने गरी आवश्यक तयारी भईरहेको पनि बताए ।
समितिले छनौट भएका हजयात्रीहरुलाई तोकिएको शुल्क यही जेष्ठ २३ गतेभित्र जम्मा गरी सक्न पनि जानकारी गराएको छ । समितिका अध्यक्ष मियाँले त्यसका लागि जेष्ठ १६ गतेको गोरखापत्र दैनिकमा सार्वजनिक सूचना जारी गरिएको पनि बताए ।
सरकारले विगत वर्षहरुमा झैं यस वर्ष पनि हजयात्राका लागि ४,६३,३९३ रुपैयाँ शुल्क रकम तोकेको छ । आर्थिक अवस्था कमजोर भएका इस्लाम धर्मावलम्वीहरुले हजयात्रा गर्न कठिनाई हुने भएकाले ५० प्रतिशत अनुदान उपलब्ध गराउन पनि पहल भईरहेको समितिले जनाएको छ ।