२०८३ बैशाख १८ गते , शुक्रबार

जनप्रतिनिधिलाई बिर्तामोड उवा संघको सम्मान

sajilo news
परिवेश मिडिया
२०७९ जेष्ठ १४ गते , शनिबार
जनप्रतिनिधिलाई बिर्तामोड उवा संघको सम्मान

बिर्तामोड । बिर्तामोडका नव निर्वाचित जनप्रतिनिधिहरुलाई बिर्तामोड उद्योग वाणिज्य संघले सम्मान गरेको छ । संघले शनिबार जनप्रतिनिधिहरुका लागि बधाई तथा सम्मान कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतराले नीति तथा कार्यक्रम र बजेट एकै पटक बनाउनु पर्ने बाध्यता रहेकाले सबै क्षेत्रसँग छलफल गरेर योजना समेट्न सकिने अवस्था नरहेको बताइन । विकासका लागि टोल विकास संस्थाहरुलाई सक्रिय गराई सहभागी गराउने, प्लाष्टिकजन्य फोहोर ब्यवस्थापनका लागि रिसाइकल उद्योग संचालनमा सहयोग गर्ने, कुहिने फोहोर ब्यवस्थापनका लागि कनकाई-बिर्ता-अर्जुन नविकरणीय उर्जा कम्पनीसँग सहकार्य गर्ने बताइन । उनले बिर्तामोडलाई सभ्य र ब्यवस्थित सहरको रुपमा विकास गर्न सबै पक्षसँग सहकार्य गर्ने प्रतिवद्धता जनाइन । उद्योग वाणिज्य संघसँग सहकार्य गरेर अगाडी बढ्नेपनि उनले बताइन ।
पार्किङलाई ब्यवस्थित गर्न नयाँ निर्माण हुने मलहरुले पार्किङस्थल छुट्याउन र निर्माण भैसकेका मलहरुले मापदण्ड कार्यान्वयन गर्न निर्देशन दिइन । आइतबार हुने विदाले सरकारी कार्यालयका सेवाग्राहीलाई असर पुगेको, बिदा धेरै हुँदा बिद्यार्थीहरु दुर्ब्यसनमा फस्न सक्ने खतरा भएको भन्दै यो हटाउनु पर्ने धारणा राखिन । उनले पाँच बर्षभित्र बिर्तामोडलाई उत्कृष्ट नगर बनाउन सबैको भूमिका महत्वपूर्ण रहेको बताइन । कर बढी भएको ठाउँमा घटाउन सुझाव दिन र तिर्नै पर्ने ठाउँमा तिर्न ब्यवसायीहरुलाई प्रेरित गर्न उवा संघलाई आग्रह गरिन । 
नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले बिर्तामोडलाई प्लाष्टिकमुक्त तथा बन्दमुक्त क्षेत्र बनाउने कुरामा सबै लाग्न आग्रह गरे । बिर्तामोडको चौतर्फी विकासका लागि बिर्तामोड उद्योग वाणिज्य संघको सहयोग खाँचो रहेको उनले औँल्याए । जनताले सेवक बनेर काम गर्ने अवसर दिएको भन्दै संग्रौलाले धन्यवाद दिए ।
कार्यक्रममा नगर प्रमुख महतरा, उपप्रमुख संग्रौला, वडाध्यक्षहरु किशोरकुमार पौडेल, मदन बुढाथोकी, राहुल शर्मा, रोहित प्रसाईं, सुर्य कन्दङ्वा, कृष्णप्रसाद खरेल, हरीप्रसाद चम्लागाईँ, दुर्योधन गुरुङ्गसहित अन्य सदस्यहरु, इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक रुगम कुवर, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक अशोक जबेगु लगायतको उपस्थिती रहेको थियो ।
संघका अध्यक्ष प्रकाश शिवाकोटीको उपस्थितिमा भएको कार्यक्रममा सहभागीहरुलाई संघका बरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले स्वागत गरेका थिए भने महासचिव अर्जुन मैनालीले संचालन गरेका थिए । 

सम्बन्धित समाचार