बेहुली अन्माउने बेलामा बेहुलाले बाइक मागे पछि ...
बिर्तामोड । मेचीनगर–१५ ज्यामिरगढीका पुष्पलाल राजवंशीले सयौँ जन्ति तथा घरगाउँले र आफन्तको उपस्थितिमा रातभर छोरीको विवाहको कर्म गरे । शुक्रबार साँझ एकै पटक दुई जना छोरीको विवाह गरेका उनले एउटी छोरी अन्माएर पठाए र अर्को छोरी अन्माउने तयारी गरे ।
जब उनले छोरी अन्माउने तयारी गरे तब बेहुलाले दाइजोमा मोटरसाइकल दिनु पर्ने शर्त तेर्स्याए । दाइजोमा टीभी, फ्रिजदेखि सोफासेटसम्मका करिब ४ लाख रुपैयाँको सामान दिइएपनि मोटरसाइकल बिना छोरी नलैजाने अडान कसेपछि बाध्य भएर पुष्पलालले प्रहरीमा उजुरी दिए ।
प्रहरीले झापा गाउँपालिका-४ का २८ बर्षीय डेबिट चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए । प्रहरीले चौधरीलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर विवाहमा लेनदेन गर्न नहुने कसुरमा अनुसन्धान गरिरहेको जनाएको छ ।