बिर्तामोडको पाँच बर्षे कार्य प्रगति सार्वजनिक
बिर्तामोड । स्थानीय तह निर्वाचन २०७४ बाट चुनिएका जनप्रतिनिधिहरुले बिर्तामोड नगरपालिकामा गरेका काम सार्वजनिक गरिएको छ । शुक्रबार बिर्तामोड नगरपालिकामा एक कार्यक्रम आयोजना गरि कार्य प्रगति सार्वजनिक गरिएको हो ।
बिर्तामोड नगरले पाँच बर्षको अवधिमा भौतिक पूर्वाधारतर्फ ६९ किलोमिटर सडक कालोपत्रे, १७ किलोमिटर पेवर्स र २२५ किलोमिटर सडक ग्राभेल गरि स्तरोन्नति गरेको जनाएको छ । १०७ वटा सामुदायिक भवन, १२० वटा कल्भर्ट निर्माण गरिएको नगर प्रमुख ध्रुवकुमार शिवाकोटीले जानकारी दिए ।
शिक्षातर्फ आधारभूत तहमा स्थानीय पाठ्यक्रम आचारण शिक्षा लागू गरेको नगर उपप्रमुख पवित्र महतरा प्रसाईले बताइन । विद्यालयको भौतिक पूर्वाधार विकास र पोशाक वितरण गरेका कारण विद्यार्थी भर्ना संख्या बढेको जनाइएको छ ।
बिर्तामोडलाई स्मार्ट सिटी निर्माणका लागि आधार तयार गरिएको नगर प्रमुख शिवाकोटीले बताए । स्मार्ट सिटीका लागि स्मार्ट मानिस र स्मार्ट मानिसको स्वास्थ्य अवस्था राम्रो हुनु पर्ने भएकाले बिषादी मुक्त अभियान संचालन गरिएको उनले बताए । तरकारीमा बिषादी कम गर्न बुधबारे हटियामा बिषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला स्थापना गरेको र तरकारी उत्पादक कृषकले ह्वात्तै बिषादीको मात्रा घटाएको शिवाकोटीले बताए । विषादी रहित तरकारी खेतीमा कृषकलाई प्रोत्साहन गर्न नगरपालिकाले कृषि औजार तथा बिउविजन वितरण गरेको उनले बताए ।
बिर्तामोड नगरपालिकाले १० वटै वडामा स्वास्थ्य केन्द्र भवन निर्माण गरि सेवा प्रवाह गरेको जनाएको छ । त्यस्तै बिर्तामोड नगर अस्पताल निर्माण गरि स्वास्थ्य विमाको सेवासमेत सञ्चालन गरिएको शिवाकोटीले बताए ।
सामाजिक विकासतर्फ नेतृत्व तथा संस्थागत विकास तालिम लगायत विभिन्न तालिमहरु सञ्चालन गरिएको उपप्रमुख प्रसाईले बताइन् । पाँच बर्षको अवधिमा अपाङ्गता भएका १७२ जनालाई रातो, २२४ जनालाई निलो, ५१ जनालाई पहेँलो र २० जनालाई सेतो कार्ड उपलब्ध गराएको छ भने १९४९ जनालाई ज्येष्ठ नागरिक परिचय पत्र वितरण गराएको छ । यो अवधिमा पालिकाले नगर खेलकुद, न्यायिक, गरिबी निवारण लगायत १४ वटा शिर्षकमा गरेका विभिन्न काम समेटेर पुस्तक नै प्रकाशन गरि सार्वजनिक गरेको हो ।