‘रैतीको इतिहास’ लोकार्पण
बिर्तामोड । स्वर्गीय गणेशप्रसाद पोखरेलको जीवन भोगाई तथा अनुभवमा आधारित पुस्तक ‘रैतीको इतिहास’को लोकार्पण गरिएको छ । कृष्ण अविरलको लेखन तथा सम्पादन रहेको पुस्तक विहिबार एक कार्यक्रमका बिच झापाली साहित्य क्षेत्रका अगुवा चुडामणी रेग्मीले लोकार्पण गरेका हुन् ।
तत्कालित सुरुङ्गा गाउँ पञ्चायतको चारपटक प्रधानपञ्च भइ काम गरेका जनप्रिय पोखरेल कनकाई नगरपालिका दुर्गापुरका हुन् । पोखरेलका जीवनका भोगाई तथा अनुभवहरु समेटिएको रैतीको इतिहास अजम्बरी पव्लिकेशनले प्रकाशन गरेको हो ।
जम्मा ३३५ पृष्ठ लामो पुस्तक पौरखी पोखरेल–वंशप्रति चासो राख्नेहरु र पोखरेल–वंशका सन्ततिहरु र पुर्खाको गौरवशाली इतिहास थाहा पाउन उपयोगी रहेको छ ।
पुस्तकमा ४५ वटा विषयबस्तुहरु समावेस गरिएको छ । जसमा महाराजाबाट न्याय भएन, नाबालक छँदै मुद्धाका झमेला, काठमाडौं यात्राको रहर, दाजुमाथी राजकाज मुद्धा, यसरी जितेँ मुद्धा, पुख्यौँली जरो पहिल्याउदा जस्ता विषयहरु समेटिएको छ । पुस्तकको मुल्य ५ सय रुपैंया राखिएको छ । पुस्तकको विक्रीबाट आएको रकम जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा पुस्तकालय बनाउने काममा उपयोग गरिने छोरा दिनेशकुमार पोखरलेलले जानकारी दिए ।
स्वर्गीय पोखरेलका जेठा छोरा राजेन्द्रकुमार पोखरेलको अध्यक्षतामा आयोजित लोकार्पण कार्यक्रममा छोरी अप्सरा पोखरेलले पुस्तक प्रकाशन गर्नुको औचित्य पुष्टयाएकी थिइन् ।
सोहि कार्यक्रममा ‘गणेशप्रसाद पोखरेल स्मति प्रतिष्ठान’ पनि स्थापना गरिएको छ । कनकाई नगरपालिकामा मुख्य कार्यालय रहने गरी स्थापना गरिएको प्रतिष्ठानमा परिवारको तर्फबाट दुई करोड रुपैंया अक्षयकोष घोषणा गरिएको छ ।
कार्यक्रममा कोमलप्रसाद पोखरेल, पुष्पराज पोखरेल, चन्द्रप्रसाद मैनाली, जनार्दन उप्रेती, प्रेमप्रकाश फलाहरी, एकराज गिरी, विरही अधिकारी, खगेन्द्रा खुशी, नवल किशोर दत्त, हिराप्रसाद पोखरेललगायत उपस्थित थिए ।