२०८३ बैशाख १८ गते , शुक्रबार

धार्मिक आस्थामा व्यक्तिको स्वतन्त्रता : मन्त्री मगर

sajilo news
परिवेश मिडिया
२०७९ बैशाख ३ गते , शनिबार
धार्मिक आस्थामा व्यक्तिको स्वतन्त्रता : मन्त्री मगर

काँकरभिट्टा । प्रदेश नंं. १ का कृषिमन्त्री झलकसिंह दर्लामी (सन्देश) ले धार्मिक आस्था मानिसको व्यक्तिगत स्वतन्त्रता र अधिकार भएको बताएका छन् । 

काँकरभिट्टास्थित मेची सामुदायिक भवनमा आयोजित नेपाल बौद्ध धर्म संरक्षण समाज मेचीनगरको प्रथम अधिवेशनमा बोल्दै मन्त्री मगरले धर्मलाई राजनीतिसँग जोडेर हेर्न नहुने बताए । ‘धर्म र आस्था मानिसको व्यक्तिगत स्वतन्त्रता हो,’ उनले भने, ‘धर्म र आस्था राज्यको हुँदैन । मन्त्री मगरले यदाकदा धर्म र आस्थालाई राजनीति र राज्यसँग जोडेर अलग बनाउने प्रयास भइरहेको टिप्पणी गरे । आफ्नो धर्म, संस्कृति र पहिचानलाई संरक्षण गर्न एकीकृत प्रयासको खाँचो रहेको पनि उनले औँल्याए ।

मन्त्री मगरले धार्मिक आस्थामा स्वतन्त्रता भएकाले नै राज्यले समान दृष्टिले हेर्ने गरेको स्पष्ट पारे । उनले लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धी नै धर्म निरपेक्षता भएको बताए ।

कृषिमन्त्री मगरले मुलुकलाई कृषिप्रधान भनिए पनि यसलाई प्रवर्धन गर्न नसकिएको बताए । उनले आयातलाई विस्थापन गर्न स्वदेशमै कृषि पेशालाई प्रवर्धन र बजारीकरण गर्नुपर्ने खाँचो औँल्याए । उनले निर्वाहमुखी कृषि पेशालाई व्यवसायमुखी बनाउन सकेमात्रै आर्थिक स्तर उन्नति हुने विचार राखे ।

बौद्ध धर्म संरक्षण समाज मेचीनगरका अध्यक्ष दिलकुमार तामाङको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद गोपाल बुढाथोकी, संविधान सभा सदस्य उषा  गुरुङ, वल्र्ड एलाइन्स अफ बुद्धिष्टका उपाध्यक्ष तथा बौद्धगुरु अजितमान तामाङ, मेचीनगर प्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेती, मेचीनगर वडा नं ६ का वडाध्यक्ष ललितबहादुर तामाङलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सोही अवसरमा संस्थालाई सहयोग गर्ने शंकर तामाङ र नगेन्द्रकुमार गुरुङलाई सम्मान गरिएको थियो । उद्घाटन सत्रको अवधिभर विभिन्न जातिहरुको संस्कृति झल्कने नृत्यहरु प्रस्तुत गरिएको थियो ।

मेचीनगर क्षेत्रमा लामो समयदेखि बसोबास गर्दै आएका बौद्ध धर्मप्रति आस्था राख्ने तामाङ, गुरुङ, मगर र शेर्पा जाति सम्मिलित बौद्धमार्गीहरुको संरक्षण र प्रवर्धन गर्ने उद्देश्य राखेर एक वर्ष अघि मेचीनगरमा उक्त समाज स्थापना भएको संस्थाका सचिव कृष्ण सिँजाली मगरले बताए । यो अवधिमा संस्थाले बौद्ध धर्म संरक्षणमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

सम्बन्धित समाचार