इजलासले छैठौँ बार्षिकोत्सव मनायो
बिर्तामोड । झापाको बिर्तामोडमा कार्यालय रहेको टाइम्स मिडिया नेटवर्कको प्रकाशन इजलासले छैठौँ बार्षिकोत्सव मनाएको छ । २०७४ सालबाट प्रकाशन आरम्भ गरेको इजलासले शनिबार बिर्तामोडमा एक कार्यक्रम गरी बार्षिकोत्सव मनाएको हो ।
बार्षिकोत्सवमा बोल्दै कार्यक्रममा प्रमुख अतिथी पूर्व मन्त्री अग्नी खरेलले मिडिया राज्य संचालनका लागि महत्वपूर्ण हुने बताए । खरेलले राज्य र व्यक्ति दुवैका लागि मिडिया आवश्यक रहेको प्रष्ट्याए । पञ्चायती व्यवस्थाको उत्तरार्धमा स्वतन्त्र प्रेस माथि राज्यले अंकुश लगाएको स्मरण गर्दै लोकतन्त्रमा प्रेस स्वतन्त्र रहेको खरेलको भनाई थियो । तर, समाचारको बिषय के हो के होइन भन्ने कुरा सम्बन्धित सञ्चारकर्मीले छुट्याउन सक्नु पर्ने खरेलले बताए । (खरेलले महत्वकै कारण लिखित नभएपनि सञ्चार क्षेत्रलाई चौथो अंगको रुपमा लिइएको बताए ।
शुभकामना मन्तव्यको क्रममा पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य तथा नेकपा एमाले जिल्ला कमिटि झापाका सदस्य मोहन काजीले सञ्चार क्षेत्र मुलुकको विकासको आधार हो भन्ने कुरा व्यवहारमा महशुस गर्न नपाइएको बताए । सामाजिक रुपमान्तरण र मुलुकको समग्र विकासको लागि सञ्चारको महत्वपूर्ण भूमिका हुने काजीको भनाई थियो । कोरोनाका कारण मिडिया थलिएको, विज्ञापनको बजार संकुचित भएको अवस्थामा पनि विज्ञापनको मूल्य भने नबढेको उनले बताए । सञ्चार क्षेत्रको विकासका लागि स्थानीय सरकारले सहयोग गर्नुपर्ने काजीले सुझाए ।
त्यस्तै सहारा नेपाल साकोसका प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरीले सञ्चारमाध्यमले पत्रकारितालाई नयाँ स्वरुपमा लैजानु पर्ने धारणा व्यक्त गरे । समय अनुसार प्रविधीमैत्री बनाउनु, विकासको मेरुदण्ड आर्थिक क्षेत्रलाई समेट्न र सकारात्मक समाचारलाईपनि प्राथमिकता दिन गिरीले सुझाव दिए ।
जिल्ला समन्वय समिति झापाका प्रमुख सोम पोर्तेलले पत्रकारिताको इतिहास स्मरण गर्दै इजलासले समाजमा सकारात्मक सन्देश दिन खोजेको धारणा राखे । छापामाध्यमको आफ्नै महत्व हुने बताउँदै पोर्तेलले दस्तावेज सुरक्षित गर्न छापामाध्यम उपयोगी हुने बताए ।
कार्यक्रममा उत्कृष्ट विज्ञापनदाताको रुपमा स्पार्क पूर्वाञ्चल अस्पताललाई सम्मान गरियो भने उत्कृष्ट कर्मचारीको रुपमा कम्प्युटर अपरेटर क्षेत्रलाल राजवंशीलाई पुरस्कृत गरिएको थियो ।
प्रदिप परियार सम्पादक रहेको इजलास दैनिक पत्रिका र अनलाइन प्रकाशन गर्दै आएको टाइम्स मिडिया नेटवर्कको अध्यक्ष नारायण पोख्रेल छन् ।