२०७८ मा झापाको सडकलाई फर्केर हेर्दा
गएको बर्ष २०७८ मा सवारी साधन दुर्घटनामा परि झापामा ११५ जनाले ज्यान गुमाए । नौ सय नौ वटा सवारी साधन दुर्घटनामा पर्दा उक्त संख्यामा मानिसको मृत्यु भएको हो । गएको बर्ष झापाको सडकमा ६०६ वटा सवारी दुर्घटना संख्या रहेको थियो ।
ज्यान गुमाउनेमा सबैभन्दा बढी पुरुष रहेका छन् । झापामा गत बर्ष ९४ जना पुरुषले सवारी साधन दुर्घटनामा परि ज्यान गुमाए । त्यस्तै १६ जना महिला ३ जना बालक र २ जना बालिकाले पनि दुर्घटनाबाट ज्यान गुमाउनु पर्यो । गएको चैत महिनामा मात्र सवारी साधन दुर्घटनामा परि १४ जनाले ज्यान गुमाएका हुन् । चैतमा १३ जना पुरुष र १ जना महिलाको ज्यान गएको हो । गत जेठ महिनामा सबैभन्दा कम २ जनाको मृत्यु भएको थियो । कोरोना संक्रमणका कारण सवारी साधन कम संख्यामा चलेका कारण जेठमा मृत्यु हुनेको संख्या कम भएको हो ।
त्यस्तै, असार र साउनमा ६/६ जना, असोज र फागुनमा ९/९ जना, भदौ र माघमा १०/१० जना, गत बैशाखमा ११ जना, पुषमा १२ जना, कात्तिक र मंसिरमा १३/१३ जनाले सवारी साधन दुर्घटनाबाट झापामा ज्यान गुमाएका थिए ।
सबैभन्दा बढी असार महिनामा १०४ वटा र सबैभन्दा कम जेठमा ३७ वटा सवारी साधन दुर्घटनामा परेका थिए । सबैभन्दा बढी दुर्घटना हुने सवारी साधनमा मोटरसाइकल रहेको छ । पाँच सय ५२ वटा मोटरसाइकल दुर्घटनामा परेका छन् । सबैभन्दा कम दुर्घटना हुने सवारी साधनमा यान्त्रिक उपकरण (डोजर, लोडर, स्काभेटर) तथा माइक्रो २/२ वटा रहेको छ ।
सो अवधिमा १९० जना पुरुष, १६ जना महिला , ३ जना बालक र २ जना बालिका सख्त घाइते भएका थिए । त्यस्तै दुर्घटनामा परि ५१३ जना पुरुष, १३४ जना महिला, ४० जना बालक र २६ जना बालिका सामान्य घाइते भएका थिए । असारमा सबैभन्दा बढी ६३ वटा दुर्घटना भएको थियो । यता जेठमा सबैभन्दा कम २८ वटा दुर्घटना भएको थियो ।
गएको बर्ष जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले ४४ हजार ७५० वटा सवारी साधनलाई कारबाही गरेको छ । उक्त कारबाहीबाट ३ करोड १२ लाख ४३ हजार रुपैँया राजश्वसमेत संकलन भएको थियो ।
सबैभन्दा बढी कारबाहीमा पर्नेमा मोटरसाइकल रहेको छ । १६ हजार ८१ वटा मोटरसाइकल कारबाहीमा परेर १ करोड १८ लाख ३८ हजार पाँच सय रुपैँया जरिवाना तिरेका थिए । सबैभन्दा बढी गएको फागुन महिनामा १ हजार ८४२ वटा मोटरसाइकललाई ट्राफिकले कारबाही गरेको थियो । त्यस्तै दोस्रो धेरै कारबाहीमा पर्ने सवारी साधन ट्रक रहेको छ । १० हजार ४१२ वटा ट्रक कारबाहीबाट ७३ लाख ७३ हजार पाँचसय रुपैँया राजश्व संकलन भएको हो ।
ट्राफिकले सबैभन्दा बढी राजश्व चैतमा संकलन गरेको छ । चैतमा ३५ लाख ९० हजार राजश्व संकलन भएको हो ।