नोबेलका चिकित्सक मृत्यु प्रकरण : अनुसन्धानका लागि ४ जना पक्राउ
विराटनगर । विराटनगरको कञ्चनबारीस्थित नोबेल शिक्षण अस्पतालका चिकित्सक विजय यादवको मृत्यु प्रकरणलाई लिएर प्रहरीले चार जनालाई पक्राउ गरेको छ । अनुसन्धानका लागि हाडजोर्नी सम्बन्धि उपकरण सप्लाई गर्ने जीवन कठेत, सुदीप पौडेल, मिथिला फार्मेसीका सञ्चालक राजेश यावद र बबी यादव नामले चिनिने नोबेलका चिकित्सकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
नोबेल अस्पतालको हाडजोर्नी विभागमा तीन वर्षदेखि कार्यरत सप्तरीको भवानीपुर खुरखुरियाका चिकित्सक विजय यादव शनिबार डेराको गेटमा मृत अवस्थामा फेला परेका थिए । उनलाई बाहिर हत्या गरी त्यहाँ ल्याएर फालिएको हुन सक्ने अनुमान गरिएको छ ।
मृतको मुख र नाकबाट रगत निस्कनुका साथै छाती, ढाड, हात र खुट्टामा चोटपटक छ । यादव शुक्रबार मोरङको कटहरीमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा सहभागी भएर साँझ ५ बजे फर्केको अस्पतालका निर्देशक नारायण दाहालले बताए । उनी अस्पतालकै गाडीमा फर्केर अस्पतालको गेटमा उत्रिएका थिए । त्यहाँबाट विजयको डेरा करिब डेढ सय मिटरपूर्वमा छ ।
शिविरबाट फर्केपछि यादव अस्पतालमा हाडजोर्नीसम्बन्धी उपकरण सप्लाई गर्ने जीवन कठेत र अर्का साथी सुदीप पौडेलसँग एयरपोर्ट लाइनको तृष्णा होटलमा राति ११ बजेसम्म बसेको पाइएको अनुसन्धानमा खटिएका प्रहरीको भनाइ छ ।
होटलमा बसेर खानपिन गरेको र आफूहरू तीनै जना एउटै स्कुटर चढेर ११ बजे राति विजयलाई उनको डेरा नजिक पुर्याएर फर्केको उनीहरूको दाबी छ । उनी अस्पताल अगाडि नहर पूर्वको प्रेम बस्नेतको घरमा डेरामा बस्दै आएका थिए । स्थानीयले बिहान यादवको मृत शरीर घरको गेटमै देखेपछि प्रहरीलाई खबर गरेका थिए । होटलमा बस्दा विजयको मोबाइलले तीन जनाको भिडियो खिचेको थियो । त्यो भिडियो माग्न राति १२ बजेपछि विजयलाई फोन गर्दा उनको फोन नउठेको कठेत र पौडेलको भनाइ छ ।
मृत फेला परेका यादवको एउटा खुट्टामा जुत्ता र अर्को खाली थियो । घटनास्थलको प्रत्यक्षदर्शी तथा यादवको मामा उपेन्द्रका अनुसार घरको गेट अगाडि महिलाका जुत्ता चप्पल, डेरा जाने सडक, नहरको डिल र त्यहाँको मिथिला फार्मेसी अगाडि रगतका टाटा थियो ।
यादवसँग ६ महिना पहिला झगडा गरेका नोबेलकै बबी यादव नामले चिनिने चिकित्सकलाई पनि प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरीको भनाई छ ।
‘विजय शुक्रबार राति कोठामा पुगेको देखिँदैन,’ उनका दाजु हिरा यादवले भने, ‘उनको कोठा खोलिएको छैन, गोजीमा मोबाइल जस्ताको तस्तै छ ।’ उनले वास्तविकता बाहिर ल्याउन प्रहरीसमक्ष माग गरेका छन् । मोरङ प्रहरीले घटना स्थलमा परिचालन गरेको कुकुरले शव सुँघेर दक्षिणमा रहेको नहर छेउको बाँसघारी हुँदै पूर्वतर्फको कञ्चनबारी चोक पुगेर फर्केर तृष्णा होटलसम्म पुगेको थियो । स्थानीयका अनुसार शुक्रबार राति ११ बजेपछि विजयको डेरादेखि ५० मिटर उत्तर र ५० मिटर पूर्वतर्फ केही युवाहरूको ग्याङफाइट भएको थियो । केहीबेरसम्म झगडा भएको र त्यसपछि भागाभाग भएको थियो । स्थानीयका अनुसार विजयलाई त्यही कुटपीट गरेर घरको गेटभित्र लडाएर भागेको हुन सक्छ ।
प्रवक्ता डीएसपी दिपक श्रेष्ठले प्रहरी दोषीको नजिक पुगिसकेको र चाँडै वास्तविकता बाहिर आउने बताए । शव पोस्टमार्टमका लागि धरान पठाइएको छ । बंगलादेशबाट एमबीबीएस गरेका मृतक २७ वर्षीय यादव अविवाहित र घरका एक्ला छोरा थिए ।
यसै बिच नोबेल शिक्षण अस्पतालले अस्पतालमा कार्यरत चिकित्सको मृत्युप्रति दुःख व्यक्त गर्दै सत्यतथ्य छानबिन गर्न माग गरेको छ । आइतबार अस्पतालका निर्देशक डा. राजेश नेपालले एक विज्ञप्ति जारी गर्दै यादव लगनशिल र मिलनसार स्वभाव भएको स्मरण गरेको छ ।