समाचार लेख्दा संवेदनशील बन्नु पर्छ : शिव गाउँले
बिर्तामोड । पत्रकार महासंघका पूर्व अध्यक्ष एवम् अनलाईन खबरका सम्पादक शिव गाउँलेले समाचार लेख्दा पत्रकार अत्यन्त संवेदनशिल बन्नु पर्ने बताएका छन् । पत्रकारले समाचार लेख्दै गर्दा भाषा, समाचार श्रोत, गोपनियताका हक आदिका बिषयमा सजगता अपनाउनु पर्ने बताएका हुन् ।
पत्रकार महासंघ झापा शाखाले आयोजना गरेको निर्वाचन केन्द्रित समाचार लेखनका सवालहरु तथा आचार संहिता प्रशिक्षण कार्यक्रमलाई सहजीकरण गर्दै गाउँलेले समाचार तथ्यपरक एवम् सन्तुलित हुनुपर्ने बताए । गाउँलेले कुनै किसिमको भेदभाव हुने गरी सूचना सम्प्रेषण गर्न नहुने र पत्रकारले लेखेको समाचारले हिंसा, आतंक र अपराधलाई प्रोत्साहन गर्न नहुने धारणा व्यक्त गरे ।
पत्रकार महासंघको ६७औँ स्थापना दिवसको अवसरमा झापा शाखाले मंगलबार झापाको बिर्तामोडमा आयोजना गरेको एक दिने प्रशिक्षण कार्यक्रममा झापाका करिब तीन दर्जन सञ्चारकर्मीहरुको सहभागिता थियो ।