बहुविवाह मुद्धाका फरार प्रतिवादी ११ बर्षपछि पक्राउ
बिर्तामोड । बहुविवाह मुद्धाका फरार प्रतिवादीलाई प्रहरीले ११ बर्षपछि पक्राउ गरेको छ । झापा हल्दिबारी गाउँपालिका–३ घर भई दमक नगरपालिका–४ बस्दै आएका ३२ बर्षीय सन्तोष नेपाली र २५ बर्षीया गंगामाया नेपाली पक्राउ परेका हुन् ।
उनीहरुलाई जिल्ला अदालत झापाले बुहविवाह मुद्धामा २०६८ साल वैशाख १४ गते दोषी ठहर गरेको थियो । अदालतले सन्तोषलाई २ बर्ष कैद र २५ हजार जरिवाना हुने फैसला गरेको छ भने गंगामायालाई १ बर्ष कैद र १० हजार जरिवाना तोकेको छ ।
लामो समयदेखि फरार रहँदै आएका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरी फैसला कार्यान्वयनका लागि सोमबार जिल्ला अदालत भद्रपुरमा उपस्थित गराएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्त पाठकले जानकारी दिए । पाठकका अनुसार पक्राउ परेकाहरुको पीसीआर जाँच गरिएको र रिपोर्ट नेगेटिभ आएपश्चात कारागार कार्यालय चन्द्रगढी पठाइने छ ।