जिल्ला ट्राफिक प्रहरी झापाको सेवा अब नयाँ भवनबाट
बिर्तामोड । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको नयाँ भवन उद्घाटन भएको छ । सोमबार भवनको प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले उद्घाटन गरेका हुन ।

२०३५ सालदेखि मुक्ति चोकको साँघुरो भवनबाट सेवा दिँदै आएको ट्राफिक कार्यालय नयाँ भवनमा सरेसँगै सेवा प्रवाहमा सहज हुने भएको छ । १ नम्बर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको १ करोड ८८ लाख ८५ हजार ५ सय ७७ रुपैँया आर्थिक सहयोगमा १० कोठाको अढाई तले कार्यालय भवन बनेको हो ।
कार्यालयको मुख्य भवनबाहेक कम्पाउण्ड वाल लगायतको संरचना भने दाताको सहयोगमा निर्माण गरिएको निर्माण समितिका अध्यक्ष सुवास भट्टराईले जानकारी दिए । उक्त संरचना करिब ४० लाखको लागतमा निर्माण भएको बताइएको छ ।
कार्यक्रममा ट्राफिक कार्यालयको जग्गा व्यवस्थापनमा सहयोग गरेबापत तत्कालिन झापा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिनेशराज मैनाली लगायत चन्दादाताहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी प्रमुख डीआइजी अरुणकुमार बिसी, १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक बासुदेव खतिवडा, प्रमुख जिल्ला अधिकारी छवि रिजाल, जिल्लाका सुरक्षा निकायका अधिकारीहरु, राजनीतिक दलका प्रमुखहरु, विभिन्न सामाजिक संघसंस्थाका पदाधिकारीहरुको बाक्लो उपस्थिती रहेको थियो ।