पोखरेल दम्पतीद्वारा वृद्ध गिरी दम्पतीलाई घर निर्माण
बिर्तामोड । झापाको अर्जुनधारा ५ नमुना वस्ती निवासी धर्मराज–राजकुमारी गिरीले नयाँ घर पाएका छन । कर्तब्य फाउण्डेशनको सहजीकरणमा गिरी दम्पतीलाई बिर्तामोडका सामाजिक अभियन्ता टीका–मोहन पोखरेल दम्पतीले गिरी परिवारलाई घर बनाइदिएका हुन ।
कर्तब्य फाउण्डेशनको ‘हाम्रोपनि सुन्दर घर होस’ भन्ने अभियानअन्तर्गत पोखरेल दम्पतीले घर निर्माण गरिदिएका हुन । पाँच लाखको लागतमा घर निर्माण भएको फाउण्डेशनका संयोजक महेन्द्रकुमार गिरीले बताए । घर आइतबार एक कार्यक्रमका बिच गिरी दम्पतीलाई हस्तान्तरण गरिएको छ ।

हस्तान्तरण गरिएको घर र घरधनी गिरी दम्पती
घरधनीहरु धर्मराज गिरीको श्रवणशक्ति छैन भने श्रीमती राजकुमारीको दुवै आँखाको ज्योती गुमेको छ । समाजिक अभियन्ता मोहन पोखरेलले आफ्नो विगतको दुःखले यो घर निर्माण गर्न प्रेरित गरेको बताए । घर हस्तान्तरण कार्यक्रममा बोल्दै पोखरेलले मृत्यु निश्चित भएको र पैसाले मात्र केहि नहुने भन्दै आफ्नो कमाइको १० प्रतिशत रकम प्रत्येक बर्ष सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक कार्यमा लगाउने बताए । उनले अरुलाईपनि आफ्नो कमाईको केहि हिस्सा सामाजिक काममा लगाउन आग्रह गरे ।
फाउण्डेशनले सक्षम र इच्छुक व्यक्तिको सहयोगमा चार बर्षमा १०० घर निर्माण गरि अति विपन्न, अपाङ्गता भएका, वृद्धवृद्धा, एकल, अल्पसंख्यक, सिमान्तकृत परिवारलाई हस्तान्तरण गर्ने संयोजक गिरीले जानकारी दिए ।