म्यादी प्रहरीका लागि झापामा ८,४३९ जनाको आवेदन
बिर्तामोड । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आह्वान गरिएको म्यादी प्रहरीको आवेदनमा झापामा ८ हजार ४ सय उनान्चालीस जनाले आवेदन दिएका छन् । यो माग संख्याको झण्डै तीन गुणाभन्दा बढी हो ।
स्थानीय तह निर्वाचनको सुरक्षाका लागि प्रहरी प्रधान कार्यालयले चैत ६ गतेदेखि ११ गतेसम्म खुलाएको म्यादी प्रहरी भर्नामा झापामा १ हजार ९ सय छयासी जना महिला र ६ हजार ४ सय त्रिपन्न जना पुरुषले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।
पहिलो दिन ४१२, दोस्रो दिन ९८०, तेस्रो दिन २,३०२, चौथो दिन १ हजार ६ सय ४१, पाँचौँ दिन १ हजार ७ सय ८१ र अन्तिम दिन १ हजार ३ सय २३ जनाले आवेदन दर्ता गराएको प्रवक्ता पाठकले बताए ।
झापामा २ हजार ७ सय ६४ म्यादी प्रहरी माग संख्या तोकिएको छ । जिल्लाका १५ वटै स्थानीय तहबाट आएका विद्यार्थी, कृषक, मजदुरदेखि पूर्व प्रहरी कर्मचारीहरूले उत्साहका साथ म्यादी प्रहरीमा दरखास्त दिएको प्रहरीले जनाएको छ ।
नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी बलमा २०७८ साउन १ गतेदेखि विभिन्न पदका लागि आवेदन दिएका शारीरिक रुपमा तन्दुरुस्त र स्वास्थ्य परिक्षणमा उत्तीर्ण भै प्रवेश पत्र पेश गर्ने, नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी बलबाट निवृत्तिभरण प्राप्त ब्यक्तिहरु, पूर्व बनरक्षक, बिदेशी मित्र राष्ट्रका सुरक्षा निकायहरुमा काम गरि अवकाशप्राप्त नेपाली नागरिक र विगतका चुनावमा म्यादी प्रहरीमा भर्ना भै सन्तोषजनक काम गरेकाहरुलाई प्राथमिकता दिइने विज्ञापनमा उल्लेख छ ।
म्यादी प्रहरीले ४० कार्य दिनको तलब ३० हजार २४० रुपैयाँ, राशन भत्ता ७ हजार २०० रुपैयाँ र पोसाक भत्ता ६ हजार र एक हजार यातायात खर्च गरी जम्मा ४४ हजार चार सय ४० रुपैयाँ पाउने छन् ।