स्थानीय तह निर्वाचनकेन्द्रित गतिविधीमा होमियो झापा माओवादी
बिर्तामोड । स्थानीय तहको निर्वाचन नजिकिएसँगै चुनाव केन्द्रित गनिविधीमा नेकपा माओवादी केन्द्र सक्रिय बनेको छ । माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा झापा–मोरङ–सुनसरी कमाण्ड इन्चार्ज साबित्रीकुमार काफ्ले (समर)ले एकताबद्ध भएर स्थानीय तहको निर्वाचनमा लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति झापाको प्रथम बैठकमा बोल्दै काफ्लेले पार्टी भित्रका अन्तरसंघर्ष र अन्तरविरोधहरुलाई बिर्सिएर निर्वाचन केन्द्रित गतिविधीमा लाग्न निर्देशन दिएका हुन् ।
वुधबार झापाको बिर्तामोडमा सम्पन्न बैठकमा बोल्दै पार्टीका १ नम्बर प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो)ले पार्टी भित्रको अन्तरसंघर्ष मिलाउने काम भइरहेको र स्थानीय तहको निर्वाचन अघि नै मिलाइ सक्ने र मिलाउन बाँकी बिषय निर्वाचनपछि मिलाउने प्रतिवद्धता ब्यक्त गरेका छन् । आन्तरिक तीतामिठा कुरा भुलेर बैठकमा बाक्लो उपस्थिति भएको भन्दै उनले खुसी ब्यक्त गरे । झापामा पार्टीको अवस्था सोचे भन्दा राम्रो भएको उनले बताएका छन् ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पार्टीले विभिन्न विभाग गठन गरी चुनाव प्रचारप्रसारलाई तिव्रता दिने निर्णय गरेको छ । झापामा तीन वटा पालिका र ३५ वडा जित्ने दावी गर्दै आएको माओवादी केन्द्रले चुनाव प्रचारप्रसारलाई तिब्र बनाउन गरी जिम्मेवारी दिएको हो । पार्टीले जिल्ला निर्वाचन प्रचारप्रसार विभाग, कोष तथा आर्थिक ब्यवस्थापन विभाग, अनुगमन विभाग, वार्ता विभागलगायतका विभाग निर्माण गरी जिम्मेवारी प्रदान गर्दै आवश्यक परेमा अन्य विभाग गठन गर्ने जनाएको छ ।
जिल्ला समन्वय समितिको बैठकले सदस्यलाई विभिन्न जिम्मेवारी समेत प्रदान गरेको छ । पार्टीका झापा संयोजक राजु आचार्य (अग्नि)को अध्यक्षतामा भएको प्रथम वैठकमा केन्द्रीय सदस्य लक्ष्मी न्यौपाने (सरु), पार्टीको केन्द्रीय निर्वाचन आयोगकी सदस्य सुशिला कन्दङ्वा, पार्टीका प्रदेश नं. १ का उपाध्यक्ष मणिकुमार साम्पाङ (विजय), शिवकुमार डाँगी, प्रदेश सचिव गणेश उप्रेती, सह–सचिव रचना राई, कोषाध्यक्ष रेवतराज पुरी (गगन) झापा सह–इन्चार्जहरु सीपी कडरिया, ज्योतिसिं दर्लामी, पुरुषोत्तम चुडाल (राजु), रोशन कन्दङ्वा, बोधराज दाहाल (असिम) लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम जिल्ला समन्वय समिति झापाका सचिव मोहन टुडु (सरोज)ले सञ्चालन गरेका थिए ।