भ्युटावरलाई अस्पताल बनाउन माओवादी केन्द्र दमकको माग
१५औँ तलासम्म अस्पताल र बाँकीलाई भ्युटावर बनाउन सुझाव
दमक । झापाको दमकमा सुविधासम्पन्न अस्पतालको आवश्यकता खड्किरहेको बेला निर्माणाधिन भ्युटावरलाई अस्पतालमा रुपान्तरण गर्न माग गरिएको छ । दमक–३ दापगाछीमा निर्माणाधिन १८ तले भ्युटावरलाई सुविधा सम्पन्न सरकारी अस्पतालमा रूपान्तरण गर्न नेकपा माओवादी केन्द्र दमक नगर कमिटीले माग गरेको हो ।
माओवादी केन्द्रको नगर कमिटी बैठकले निर्माणाधिन भ्युटावरलाई मेडिकल कलेजसहितको अस्पतालमा रूपान्तरण गर्न माग गरेको नगर कमिटी अध्यक्ष रवि बस्नेतले जानकारी दिए । ‘त्यहाँको संरचना अस्पताल बनाउन हुने नै छ । स्थलगत अनुगमन गरेर हामी यो निष्कर्षमा पुगेका हौँ,’ उनले भने, ‘हामीले गरेको निर्णय पार्टी केन्द्र र अध्यक्ष प्रचण्ड, अर्थमन्त्रालयमार्फत प्रधानमन्त्री कार्यालय, प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमार्फत मुख्यमन्त्री कार्यालयमा पनि पठाउने छौँ ।’
दमक क्षेत्रमा ठूलो सरकारी अस्पताल नभएका कारणपनि बन्दै गरेको भ्युटावरको संरचनामा मेडिकल कलेजसहित प्रादेशकि अस्पताल संचालन गर्न माग गरिएको माओवादी दमकका इञ्चार्ज बेदु गौतमले जानकारी दिए । ‘जनताले निजी अस्पतालमा उपचार गर्न महँगो शुल्क तिर्नुपर्ने बाध्यता छ । सुविधा सम्पन्न सरकारी अस्पताल यहाँको आवश्यकता हो । यहाँ प्रादेशिक अस्पताल बनाउने हो भने प्रदेश–१ का नागरिकले राम्रो सुविधा पाउने थिए,’ उनले भने, ‘अस्पताल १५ तलासम्म राखौँ । त्यहाँमाथिको संरचना भ्युटावरको रूपमा नै प्रयोग गरौँ । त्यसो गर्दा अस्पताल पनि हुन्छ भ्युटावर पनि हुन्छ ।’
दमक–३ मा सरकारले एक अर्ब ५६ करोड १४ लाख ३९ हजार एक सय ६४ रुपैयाँमा धमामधम भ्युटावर बनाइरहेको छ । अहिले १३ औँ तलाको काम भइरहेको छ । भवनभित्र चारवटा लिफ्ट भएकाका कारण अस्पतालका लागि पनि उपुयक्त हुने माओवादी केन्द्रका अध्यक्ष बस्नेतले बताए । ‘हामीले भ्युटावर निर्माणस्थलमा रहेका इञ्जिनियरहरूसँग पनि कुरा गर्यौँ । स्थानीयसँग पनि छलफल गर्यौँ । उहाँहरूले पनि अस्पतालका लागि उपयुक्त हुने बताउनुभएको छ,’ उनी भन्छन्, ‘अस्पताल भए यो ठाउँको पनि विकास हुने हाम्रो बुझाइ हो । भ्युटावर हुँदा दुरुपयोग पनि हुनसक्छ । अस्पताल आम नागरिकका लागि हुन्छ ।’ एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगरमा बन्दै गरेको यो भ्युटावरलाई ओलीले विशेष महत्वका साथ हेर्ने गरेका छन् । यो भ्युटावर व्यापारीक प्रयोजनसहितको हुने बताइएको छ ।