कलाकार 'चम्सुरी' को सफलतापूर्वक मिर्गौला प्रत्यारोपण
काठमाडौं । कलाकार पल्पसा डंगोल ‘चम्सुरी’को सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएको छ । बुधबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा चिकित्सकले चार घण्टा लामो शल्यक्रियामार्फत उनलाई एउटा मिर्गौला प्रत्यारोपण गरेका हुन् ।
पल्पसालाई भाइ नाता पर्ने अजु डंगोलले मिर्गौला दान दिएका हुन् । प्रत्यारोपणपछि अहिले पल्पसालाई चिकित्सकीय निगरानीमा राखिएको छ ।
पाँच वर्षअघि नै पल्पसाको मिर्गौलामा समस्या देखिएको थियो । हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’मा सुरुदेखि नै अभिनय गर्दै आएकी पल्पसा ६ महिनापछि गत कात्तिक ३० गते उक्त टेलिफिल्ममा फर्किएकी थिइन् ।
कोरोना महामारीका कारण शिक्षण अस्पतालले मिर्गौला प्रत्यारोपण सेवा बन्द गरेपछि यसअघि उनको शल्यक्रिया रोकिएको थियो ।
मिर्गौला प्रत्यारोपण गर्न १२ लाख रुपैयाँ खर्च भएको जानकारी दिंदै चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले खर्च जुटाउन संघले पहल गर्ने जानकारी दिए ।
खर्च जुटाउन कलाकार संघको संयोजकत्वमा समिति बनाउने तयारी गर्दैछु,’ अध्यक्ष खड्काले भने, ‘चलचित्र विकास बोर्ड मातहतको कल्याणकारी कोषबाट समेत सहयोग गर्न पहल हुनेछ ।’