२०८३ बैशाख १८ गते , शुक्रबार

होटलमा लगेर महिलाको हत्या गर्ने दिनेश राना मगर पक्राउ

sajilo news
परिवेश मिडिया
२०७८ फाल्गुन २२ गते , आईतबार
होटलमा लगेर महिलाको हत्या गर्ने दिनेश राना मगर पक्राउ

धरान । सुनसरीको धरान१८ बुद्धचोकमा रहेको न्यू कान्तिपुर होटल एण्ड गेष्ट हाउसमा लगेर महिलाको हत्या गरी फरार रहेका पुरुषलाई पाँच दिनपछि प्रहरीले पक्राउ गरेको छ । पाँचथर मिक्लाजुङ१ की ३९ बर्षीया सुमित्रा तामाङको हत्या आरोपमा प्रहरीले धनकुटाको पख्रिबास नगरपालिका६ फलाँटेका २४ बर्षीय दिनेश राना मगरलाई पक्राउ गरेको हो । 

गत मंगलबार न्यू कान्तिपुर होटल एण्ड गेष्ठ हाउसको कोठा नम्बर १०९ मा तामाङको शव फेला परेको थियो । उनीहरु दुई दिनदेखि उक्त होटलमा बस्दै आएका थिए । मृतकको शव उनकै छोराछोरीले पहिचान गरेका थिए । 

होटलमा महिलाको हत्या गरी फरार रहेका राना मगरको पहिचान गरेर प्रहरीले खोजी गर्नेक्रममा शनिवार धनकुटाको छथर जोरपाटी गाउँपालिकामा रहेको ससुरालीबाट राना मगर पक्राउ परेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी नायव उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय धनकुटाको सहयोगमा हत्या गरी फरार रहेका राना मगरलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो । 

प्रहरीका अनुसार राना मगर केही समय पहिले इटहरीमा सिटी सफारी चलाउने गरेको र सोही समयमा इटहरी५ तुलसा टोलमा बस्दै आएकी मृतक सुमित्रा तामाङसँग भेट भएको थियो । सो क्रममा उनीहरू बिच माया प्रेम बसेको बताइएको छ । दिनेश पछिल्लो समय हेभी इक्युपमेन्टको सह चालकको रुपमा ३÷४ महिनादेखि भोजपुरमा काम गर्न थालेका थिए । यो बिचमा उनीहरूको सम्बन्धमा खटपट भएको र होटलमा हत्या गर्न पुगेको प्रहरीको प्रारम्भिक बयानमा खुलेको छ । दिनेशले सुमित्राको हत्या आफुले गरेको स्वीकारेको प्रहरीले बताएको छ ।

मृतक तामाङ्का श्रीमान् पूर्व भारतीय सेना रहेको र हाल ब्रुनाईमा कार्यरत रहेको बताइएको छ । तामाङ इटहरी उपमहानगरपालिका५ तुलसा टोलमा विगत ४÷५ वर्ष देखि बस्दै आएकी थिइन् ।

सम्बन्धित समाचार