नामाकरणका बिषयमा छलफल गर्न आज प्रदेश १ मा सर्वदलिय बैठक बस्दै
विराटनगर । अन्य सबै प्रदेशले आफ्नो नाम राखिसकेपछि दबाबमा परेको प्रदेश १ ले नामाकरणको विषयमा छलफल गर्न आज सर्वदलीय बैठक आह्वान गरेको छ । प्रदेश १ सरकारको तर्फबाट आज सर्वदलीय बैठक आह्वान भएको हो । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा दिउँसो १२ बजेपछि हुने छलफलमा प्रदेशका ५ पार्टीका नेताहरुको सहभागीता रहनेछ ।
प्रदेश १ को नाम बहुपहिचान, भूगोल वा पहिचानका आधारमा राख्ने भन्ने विषयमा दलहरुबीच सहमति हुने सम्भावना कमजोर छ । यद्यपि आजको बैठकबाट छलफलको औपचारिक सुरुवात हुने प्रदेश १ सरकारका स्वास्थ्यमन्त्री जयराम यादवले बताए । जनता समाजवादी पार्टीका यादव प्रदेशको नामकरणका लागि सरकारले गठन गरेको समन्वय र वार्ता समितिका संयोजक पनि हुन् ।
प्रदेश १ मा गठन भएका यसअघिका सरकारमध्ये शेरधन राई नेतृत्वको सरकारले पटक–पटक नामकरणको विषयमा छलफल गरेको थियो । त्यसपछि बनेको भीम प्रसाद आचार्यको सरकारले नामकरणको विषयमा छलफल नै गरेको थिएन ।
हालका मुख्यमन्त्री राजेन्द्रकुमार राईले आफू नियुक्त भएलगत्तै प्रदेशको नामाकरण टुंग्याउने बताउँदै आएका छन् । यद्यपि नामको विषय तत्काल टुंगिनेमा दलहरु नै आशावादी छैनन् ।
संवैधानिक व्यवस्था अनुसार प्रदेशको नामाकरण टुंगो लगाउन प्रदेशसभामा दुई तिहाई बहुमत आवश्यक पर्छ । जसका लागि एमाले निर्णायक छ । प्रदेशसभामा नेकपा एमालेका सभामुखसहित ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीको १०, जसपाको ३, राप्रपा र संघीय लोकतान्त्रिक मञ्चका १÷१ जना सांसद गरी ९२ जना सांसद रहेका छन् ।