इलाममा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
बिर्तामोड । इलामको सूर्योदय नगरपालिका ३ तीनखुट्टेमा सवारी दुर्घटनाहुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी सूर्योदय नगरपालिका १ का २३ बर्षीय सौगात राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शुक्रबार पौने ५ बजे फिक्कलबाट पशुपतिनगर तर्फ जाँदै गरेको को १ ज ३५८९ नम्बरको बोलेरो र विपरित दिशाबाट आउँदै गरेको मे ११ प ४८९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनाबाट गम्भिर घाइते मोटरसाइकल चालक राईलाई उपचारको लागि बीएण्डसी अस्पताल पुर्याउने बित्तिकै चिकित्सकले मृत घोषित गरेका थिए । मोटरसाइकलको पछाडि सवार सूर्योदय १ कै २९ बर्षीया सम्झना राई गम्भिर घाइते भएको र बीएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामले जनाएको छ ।
मोटरसाइकल, बोलेरो र बोलेरो चालक सूर्योदय ९ का ३० बर्षीय सुकविर तामाङलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।