२०८३ बैशाख १८ गते , शुक्रबार

बमजस्तो शंकास्पद वस्तु 'होक्स' राख्ने १ महिलासहित ९ जना सार्वजनिक

sajilo news
परिवेश मिडिया
२०७८ फाल्गुन ५ गते , विहीबार
बमजस्तो शंकास्पद वस्तु 'होक्स' राख्ने १ महिलासहित ९ जना सार्वजनिक


बिर्तामोड । प्रहरीले झापाका विभिन्न स्थानमा बमजस्तो देखिने वस्तु 'होक्स' राखेको अभियोगमा ९ जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ । प्रहरीले बिर्तामोडमा एक कार्यक्रम आयोजना गरि उनीहरुलाई सार्वजनिक गरेको हो ।
प्रहरीले घटनाका मुख्य योजनाकार गौरादह २ झापाका ३८ बर्षीय सुमनकुमार कार्की, कनकाई ३ का ४१ बर्षीय भीष्म थापा, दमक ९ का ५० बर्षीया देवि बास्कोटा (गुरागाई), कनकाई ३ का ५८ बर्षीय कुमार भनिने यमदत्त सिटौलालाई सार्वजनिक गरेको छ । सिटौला कोटिहोममा पुजारीको काम गर्दै आएको प्रहरीले जनाएको छ ।
त्यस्तै, शिवसताक्षी १ का ३२ बर्षीय सरुण भनिने सिलकुमार सामेखाम, संखुवासभा खाँदबारी १० घर भै सुन्दरहरैँचा ६ बस्ने २९ बर्षीय मनमोहन दाहाल, गौरीगन्ज ३ का ३२ बर्षीय आनन्द भनिने अनन्तप्रसाद गिरी, गौरादह ५ का ३३ बर्षीय प्रदिप थापा र गौरिगन्ज ३ का ४५ बर्षीय विजयकुमार दास हलुवाईलाई पक्राउ गरि सार्वजनिक गरेको छ । उनीहरुलाई विभिन्न मितिमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक विश्वमणी पोखरेलले बताए । उनीहरुलाई बिष्फोटक पदार्थ सम्बन्धि कसूरमा जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान भैरहेको उनले बताए ।
गत माघ ९ गते झापाको बिर्तामोडको पश्चिम बसपार्क र १३ गते दमक ५ स्थित सिवान चर्चको गेटमा प्रहरीले होक्स फेला पारेको थियो । होक्स भएको स्थानमा हिमाल सुरक्षा परिषदको नाममा पर्चा समेत फेला पारेको थियो । उनीहरुले हिन्दु राष्ट्र कायम हुनुपर्ने, संघीयता खारेज हुनुपर्ने लगायत माग राखेर पर्चा बनाएका थिए । 

सम्बन्धित समाचार