इलामको फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल उद्घाटन सम्पन्न

इलाम । इलाममा निर्माण सम्पन्न फाल्गुनन्द–सुकिलुम्बा विमानस्थलको उद्घाटन भएको छ । विमानस्थलको आइतबार पूर्वप्रधानमन्त्री झलनाथ खनाल र संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आलेले उद्घाटन गरेका हुन् ।
खनाल र आले नेपाल एयरलाइन्सको नाइन एन स्लाक्स एवीटी विमानमार्फत सुकिलुम्बा आएका थिए । जहाज विहान ९ बजे विमानस्थलमा अवतरण गरेको थियो । गत माघ २५ मा विमानस्थलको धावनमार्ग कालोपत्रे निमार्ण सम्पन्न भएपछि केहिदिन अघि आलेको निर्देशनमा नेपाल बायुसेवा निगमको विमानले परीक्षण उडान गरेको थियो । विमानस्थलको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री झलनाथ खनालले जिल्ला (इलाम)मा जहाज अवतरणसँगै एउटा आयाम थपिएको बताए ।
उनले विमानस्थल विकासको मार्गदर्शक रहेको भन्दै अन्य जिल्लाबाट समेत जहाजको सुविधा लिन इलाम आउने विश्वास व्यक्त गरे । कार्यक्रममा बोल्दै मन्त्री आलेले चन्दा उठाएर निर्माण सुरु भएको विमानस्थलमा विमान आउँदा जिल्लावासी खुसी भएको विश्वास व्यक्त गरे । उनले विमानस्थलमा सेक्युरिटी विल्डिङ र टर्मिनल निर्माणको काम अघि बढाउन प्राधिकरणलाई निर्देशन दिए । कार्यक्रममा प्रदेश १ की पर्यटन मन्त्री खिनु लङ्वाले पर्यटनको यथेष्ट सम्भावना बोकेको इलाममा जहाज अवतरण हुनु सामान्य कुरा नभएको बताइन् । उनले लामो प्रयासपछिको सफलता भन्दै निरन्तरताका लागि सबैमाझ अनुरोध गरिन् ।
कार्यक्रममा बोल्दै संघीय सांसद सुजाता परियारले विरामी वा समस्या भएका बेला इलामेलाई सहज र सहज तवरले उपचार गराउन विमानमार्फत राजधानी लैजान सकिने बताइन् । कार्यक्रममा बोल्दै सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले पर्यटकीय जिल्लामा एयरपोर्ट अपरिहार्य रहेको धारणा व्यक्त गरे । कार्यक्रममा नेपाल एयरलाइन्सका कार्यकारी निर्देशक युवराज अधिकारी र नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले समेत विमानस्थलका बारेमा जानकारी दिएका थिए ।
सात सय मिटर लम्बाइ र ६० मिटर चौडाइको धावनमार्ग सहितको विमानस्थलको २०५८ सालमा सर्भे सुरु गरिएको थियो । विमानस्थल खनाल प्रधानमन्त्री हुँदा २०६८ सालमा शिलन्यास गरिएको थियो ।