चाउचाउ उद्योग आगलागी अपडेट : पूर्णरुपमा नियन्त्रणमा नआएपनि फैलनसक्ने सम्भावना कम

बिर्तामोड । झापाको मेचीनगर १४ दुवागढीस्थित मनसा थाईफुड्स प्रा.लि.मा शनिबार विहान करिब ५ बजेदेखि लागेको आगो नियन्त्रण प्रयास जारी छ । आगो पूर्णरुपमा नियन्त्रणमा आइनसकेको भएपनि अन्यत्र फैलनसक्ने सम्भावना कम भएको प्रहरीले जनाएको छ ।
आगलागी नियन्त्रणका लागि झापा, इलाम, मोरङ र सुनसरीका गरी १३ वटा दमकलले प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए । लेटाङको एउटा फोमवाला दमकलसमेत आउँदै गरेको उनले बताए । उनका अनुसार इलाम सूर्योदय नगरपालिकाको फोमवाला दमकल आगलागीस्थलमा तयारी अवस्थामा राखिएको र अन्य १२ वटा पानीवाला दमकलले आगो निभाईरहेका छन् ।
यो समाचार पार्दासम्म (१२ः३०) आगो पूर्ण नियन्त्रणमा आइनसकेको तर अन्यत्र फैलनसक्ने सम्भावना कम भएको बताइएको छ । उद्योगको मुख्य भवन आगलागीबाट जोगिएको प्रवक्ता पाठकले बताए । उद्योगको सम्पूर्ण कच्चा पदार्थ जलेर नष्ट भएका छन् भने साना टहराहरु समेत पूर्ण रुपमा जलेका छन् । उद्योगको लागि आवश्यक डाल्डा लगायतका प्रज्वलनशिल पदार्थ भएको स्थानमा आगो पुग्न नदिइएको उनले बताए । यदि उक्त प्रज्वलनशिल पदार्थमा आगो सल्किने हो भने आगो नियन्त्रण बाहिर जाने भएकाले त्यसलाई आइसोलेट गरिएको र आगो सल्किएमा प्रयोग गर्न फोमवाला दमकल तयारी अवस्थामा राखिएको प्रवक्ता पाठकले जानकारी दिए । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीयबासी आगो नियन्त्रणमा खटिएका छन् ।
विद्युत सर्ट भएर आगलागी भएको आशंका गरिएको छ । आगलागीबाट मानवीय क्षति भएको छैन । चार बर्षपहिले करिब १ अर्ब लगानीमा स्थापना भएको उक्त उद्योगले मगमग, अकबरे लगायत ब्राण्डका चाउचाउ उत्पादन गर्दै आएको छ ।