सुकिलुम्बा विमानस्थलमा नेपाल एयरलाइन्सको परीक्षण उडान सफल
इलाम । इलाम नगरपालिका ९ मा रहेको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा नेपाल एयरलाइन्सको परीक्षण उडान सफल भएको छ ।
एयरलाइन्सको नाइन एबिटी कल साइनको ट्विन अटर विमान बुधवार बिहान १०:०२ बजे अवतरण गरेको नेपाल वायु सेवा निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् । विमान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ९:०५ बजे उडेको थियो ।
परीक्षण उडान संस्कृति‚ पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको निर्देशनमा भएको प्रवक्ता खड्काले जानकारी दिइन्। परीक्षण उडानको प्रतिवेदनका आधारमा निगमले नियमित उडानको तयारी अघि बढाउने बताएको छ ।
विमानस्थलमा व्यावसायिक उडान सुरु हुनुअघि परीक्षण उडान गरिएको हो । आगामी फागुन ८ गतेदेखि व्यावसायिक उडानको तयारी छ । विमानस्थल कालोपत्र गरिनुअघि २०७५ जेठ २१ गते परीक्षण उडान गरिएको थियो । काठमाडौँबाट १९ सिट क्षमताको तारा एयरको ट्विनअटर जहाज एक घण्टा दुई मिनेटमा विमानस्थलमा अवतरण गरेको थियो ।