पत्रपत्रिका वर्गीकरणमा प्रेस काउन्सिलले विभेद गरेको प्रेस सेन्टर झापाको ठहर

बिर्तामोड । हालै प्रेस काउन्सिल नेपालले गरेको पत्रपत्रिका वर्गीकरणप्रति प्रेस सेन्टर नेपाल झापाले असन्तुष्टि जनाएको छ । काउन्सिलले राजनीतिक आग्रह–पूर्वाग्रहका आधारमा पत्रपत्रिका वर्गीकरण गरेको भन्दै असन्तुष्टि जनाएको हो ।
सेन्टरले सोमबार एक विज्ञप्ति जारी गरी पत्रपत्रिकाको पुनः मूल्याङ्कन गर्न माग गरेको छ । आर्थिक वर्ष २०७५/०७६ र २०७६/०७७ को वर्गीकरण नतिजा विभेदपूर्ण भएको भन्दै सेन्टर नेपाल झापाको गम्भीर ध्यानाकर्षण भएको बिज्ञप्तिमा उल्लेख छ । सेन्टरले पत्रपत्रिकाको वर्गीकरण नतिजा निष्पक्ष नदेखिएको तथा राजनीतिक आग्रह–पूर्वाग्रहका आधारमा वर्गीकरण भएको ठहर गरेको छ ।
विज्ञप्तिमा भनिएको छ ‘पत्रपत्रिका प्रकाशन, वितरण, निरन्तरता, विषयवस्तुको प्रस्तुति, प्राविधिक पक्ष, भाषा, आकार, छपाई र कागजको गुणस्तर लगायतका विषयवस्तुप्रति गम्भीर बनेर पुनः वर्गीकरण गर्न आग्रह गर्दछौं ।’
प्रेस काउन्सिलले प्रत्येक वर्ष देशभरबाट प्रकाशित पत्रपत्रिकाको वर्गीकरण गर्दै आएको छ ।