वैशाख ३० गतेलाई स्थानीय तहको चुनाव घोषणा, प्रतिपक्षद्वारा स्वागतयोग्य भएको टिप्पणी

काठमाण्डौ । सरकारले स्थानीय तहको निर्वाचन २०७९ साल वैशाख ३० गते गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिए । उनका अनुसार वैशाख ३० गते शुक्रबारका दिन एकैपटक देशभर स्थानीय चुनाव हुनेछ ।
यसअघि निर्वाचन आयोगले जेठ ४ गते स्थानीय चुनावका लागि मिति प्रस्ताव गरेको थियो । सरकारले बैशाख ३० गते चुनाव गर्न सकिन्छ कि सकिदैन भनेर आयोगसँग गरेको परामर्शमा आयोगले सकिने जवाफ दिएपछि सरकारले बैशाख ३० को मिति घोषणा गरेको हो ।
निर्वाचन आयोगकै सुझावअनुसार सरकारले मिति घोषणा गरेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए । जेठ ५ गते स्थानीय तहका जनप्रतिनिधिको म्याद सकिने भएपछि त्यसअघि नै नयाँ जनप्रतिनिधिले पदबहाल गर्नेगरी बैशाख ३० मा चुनाव गर्दा सहज हुने आयोग पदाधिकारीको भनाई छ ।
यसैबीच सरकारले स्थानीय चुनावको मिति नतोकेको भन्दै आन्दोलनको तयारीमा रहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले वैशाख ३० मा स्थानीय निर्वाचनको मिति घोषणा गर्नु स्वागतयोग्य भएको टिप्पणी गरेको छ ।