अलपत्र कामदार ब्यवस्थापनका लागि मन्त्री श्रेष्ठ यूएई जाने
काठमाडौं । म्यानपावर कम्पनीले वैदेशिक रोजगारीका लागि ‘भिजिट भिसा’मा संयुक्त अरब इमिरेट्स (यूएई) पुर्याएर अलपत्र पारेका नेपालीको व्यवस्थापनमा सरकार अग्रसर भएको छ । उनीहरुको ब्यवस्थापनका लागि आगामी हप्ता सरकारको प्रतिनिधित्व गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ यूएई जाने भएका छन।
वैदेशिक रोजगारीको प्रलोभनमा परी भिजिट तथा अन्य भिसामा यूएई गई अलपत्र परेका नेपालीको व्यवस्थापनका विषयमा यूएई सरकारसँग छलफल गर्न मन्त्री श्रेष्ठ यूएई जान लागेको श्रम मन्त्रालयले जनाएको छ । यूएई जाने मिति र समय भने खुलाइएको छैन ।
नेपाली नागरिकलाई यूएईमा अलपत्र पार्ने संस्था वा व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन र पीडितलाई कसरी न्याय दिलाउन सकिन्छ भन्नेबारे मन्त्री श्रेष्ठले आइतबार नेपालका लागि (यूएई) का राजदूत साइद हमदान अल नाकीसँग छलफल गरेका थिए ।
छलफलमा उनले रोजगारीको प्रलोभनमा यूएई गई अलपत्र परेका नेपालीको समस्या समाधानमा सहयोग गर्न राजदूत साइदसँग आग्रह गरे ।
मन्त्री श्रेष्ठले अलपत्र परेका नेपालीलाई युएईमै रोजगारीको अवसर प्रदान गर्ने, भिसा अवधि सकिएर बढी शुल्क बुझाउनुपर्ने वा गैरकानुनी रुपमा बस्नुपर्ने बाध्यता भएकालाई आममाफी दिनुपर्ने तथा उद्धार गर्नुपर्नेलाई नेपाल फिर्ता गर्ने क्रममा यूएई सरकारबाट सहयोगको अपेक्षा गरिएको बताए । भेटको क्रममा राजदुत साइदले आवस्यक सहयोग गर्ने बताएका थिए ।