सिद्धिविनायक ज्येष्ठ नागरिक चौतारी तथा गणेश मन्दिरको शिलन्यास

बिर्तामोड । झापा बिर्तामोड ४ स्थित मेघाबारीमा सिद्धिविनायक ज्येष्ठ नागरिक चौतारी तथा गणेश मन्दिरको शिलन्यास भएको छ । आइतबार वसन्त पन्चमीको अवसर पारेर नगरपालिकाकी उपमेयर पबित्रा महतरा प्रसाईं, ४ नम्बर वडाध्यक्ष कुलप्रसाद संग्रौला र जग्गादाता गुरुप्रसाद ओझाले मन्दिरको संयुक्त शिलन्यास गरेका हुन ।
ओझाले स्थानीय सिद्धिविनायक भजन किर्तन मण्डलीलाई मेघाबारी टोल रोड नम्बर ७ मा निशुल्क उपलब्ध गराएको ११ धुर जग्गामा मन्दिर शिलन्यास गरिएको मण्डलीका अध्यक्ष गिता पोखरेलले जानकारी दिइन । शिलन्यास कार्यक्रममा बोल्दै कार्यक्रमका अतिथीहरु उपमेयर प्रसाईं र वडाध्यक्ष संग्रौलाले आस्थाको केन्द्र मन्दिर तथा चौतारी निर्माण आफैमा प्रशंसनीय कार्य भएकाले सबैले सहयोग गर्नुपर्नेमा जोड दिए । उनीहरुले स्थानीय सरकारको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धतासमेत ब्यक्त गरे ।
सबैको सहयोगबाट यो संरचना निर्माण गरिने भन्दै निर्माण समिति संयोजक भोला गुरागाईंले सबै सहयोगी दाताहरुलाई सहयोगका लागि आग्रह गरे ।