सुनसरीमा बस र ट्रक जुध्दा आगलागी, ३ को मृत्यु १३ जना घाइते

इटहरी । सुनसरीको लौकही क्षेत्रको भोक्राहा नरसिंह ३ र ६ को सिमाना खुनिया खोला पुलमा गए राति बस र ट्रक एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । काँकडभिट्टाबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख ८४९३ नम्बरको शुभबिहानी ट्राभल्स र पूर्वतर्फ आउँदै गरेको ना ५ ख २९९६ नम्बरको ट्रक ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
काकडभिट्टाबाट १४ जना यात्रु लिएर हिँडेको बसमा त्यहाँ शुक्रबार राती करिव ८ बजे आइपुग्दा २७ जना यात्रु रहेको प्रहरीले जनाएको छ । प्रतिकुल मौसम, तीब्र गति र साघुरो पुलको कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । गाडी जुधेपछि दुवै गाडीमा आगो लागेको थियो । बसमा च्यापिएर तीन जनाको मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । मृत्यु हुनेमा बस चालकका चालक गोलधाप १ झापाका ४५ बर्षीय सुरेन राई, भारत पश्चिम बंगाल कालचोनीका २५ बर्षीय निहाल प्रधान र ट्रक चालक जिल्ला बारा निजगढ ९ बस्ने बर्ष २७ को शेख फिरोज रहेको प्रहरीले जनाएको छ । बसमा सवार अन्य १३ जना घाइते भएका छन् ।
दुर्घटनामा बसका सहचालक झापाका रबिन ढुंगेल, मोरङका बिक्रम कटवाल, दोलखाका मिङमा शेर्पा, बाराका दिपक श्रेष्ठ, बसका सहचालक उदयपुरका दिलकुमार बिक, बसमा सवार महोतरीका राहुलकुमार मण्डल, काठमाडौंका सादकन मिया, भारतकी मुना प्रधान, उमेश लामा, अमृता लामा, पाँचथरका पेवाहाङ जगेबु, तेह्रथुमका जितबहादुर लिम्बु र इलामका गोपाल दाहाल घाइते भएका छन् ।
उनीहरुको विराटनगरको न्युरो, नोवेल र इनरुवाको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।