आज पूर्वमा बढी बर्षा हुने सम्भावना, बेलुकाबाट मौसममा सुधार हुने

काठमाण्डौ । पश्चिमबाट प्रवेश गरेको न्यूनचापीय प्रणाली पूर्वतर्फ सर्दै गएका कारण शनिबार पश्चिमतर्फ वर्षा कम र पूर्वी क्षेत्रमा बढी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ । ‘पश्चिम नेपालमा क्रमशः मौसममा सुधार हुँदै गएको छ । शनिबार दिउँसो काठमाडौंमा बदलीसँगै हल्का वर्षा हुन सक्छ । तुलनात्मक रूपमा पूर्वमा धेरै वर्षा हुन्छ,’ मौसमविद् प्रतिभा मानन्धरले भनिन्, ‘शनिबार साँझबाट देशभर मौसममा सुधार हुँदै जानेछ ।’
शनिबार दिउँसो प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा अन्य प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । पूर्वी तथा मध्य भूभागका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको आकलन गरिएको छ ।
महाशाखाकी मौसमविद् मानन्धरका अनुसार १ पुसयता मात्रै पश्चिमी न्यूनचापीय प्रणाली नेपाल प्रवेश गरेको आठौँपटक हो । हिउँदे झरी परेको भने पाँचौँपटक हो । यसपटकको पश्चिमी न्यूनचापीय प्रणालीले पाकिस्तान र दिल्लीमा पनि असर पारेको छ ।