नेपाल लाइफको बोनस दर घट्यो, केन्द्रीय अभिकर्ता संघर्ष समितिको आन्दोलन यथावत
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बोनस दरमा उच्च गिरावट आएको छ । नेपालकै सबैभन्दा धेरै बीमालेख संख्या भएको सो कम्पनीले बिक्री गरेको सावधिक र आजीवन जीवनबीमाको बोनस दर घटेको हो ।
यसअघि सो कम्पनीले न्यूनतम ६५ रुपैयाँ प्रतिहजारसम्म बोनस दिँदै आएको थियो । यो दर अहिले घटेर ५६ रुपैयाँ सम्म झरेको छ । त्यस्तै, २५ वर्षे बीमालेख भएकालाई अधिकतम ८२ रुपैयाँ प्रतिहजारका दरमा बोनस दिँदै आएको सो कम्पनीले अहिले यसलाई ७० मा झारेको छ ।
अधिकतम बोनस दर ८२ रुपैयाँ नै कायम राखे पनि सो कम्पनीले अब ३० वर्षे बीमालेख भएकालाई मात्रै यो बोनस दर उपलब्ध गराउने जनाएको छ ।
इन्स्योरेन्सले सबैभन्दा धेरै बीमालेख बिक्री भएका ११ देखि २० वर्ष अवधिको सावधिक जीवनबीमाको बोनस दर पनि घटाएर ६० रुपैयाँ प्रतिहजारमा झारेको छ ।
यता अभिकर्ता केन्द्रीय संघर्ष समितिले व्यवस्थापनले गर्ने जथाभावी खर्च कटौती गर्नुपर्ने, विमितको बोनस दर घटाउन नहुने लगायत माग राखेर गर्दै आएको आन्दोलन जारी राखेको छ । संघर्ष समितिका संयोजक गणेश अधिकारीले सोमबारदेखि गर्ने भनिएको नेपाल लाइफका देशव्यापी शाखा कार्यालयमा तालाबन्दी गर्ने कार्यक्रम वार्ता जारी रहुन्जेलसम्मका लागि स्थगित गरिएकोले सोही बमोजिम आफ्नो देशैभरिका अभिकर्ताहरुलाई निर्देशन दिएका छन् । उनले बीमा पोलिसी काट्न नदिने पुस १७ गतेको निर्णय कायमै रहेको जनाउँदै वार्ता जारी हुँदासम्म शाखा कार्यालयमा तालाबन्दी गर्ने कार्य स्थगित गर्ने निर्णय गरिएको जानकारी दिए । उनका अनुसार वार्ताबाटै समस्याको समाधान हुनसक्ने सम्भावना र वार्ताको माध्यमबाट सहमति कायम हुने सम्भावना रहेकोले वार्ता सहजतापूर्वक अघि बढाउन, वातावरणलाई उत्तेजित हुन नदिन तालाबन्दी गर्ने निर्णय हाललाई स्थगित गरिएको बताए । साथै उनले वार्ता असफल हुने वित्तिकै तालाबन्दी गर्ने निर्णय गरिएको समेत जानकारी दिए ।