इलामका युवा माघ ५ गतेदेखि नयाँ दिल्लीबाट सम्पर्क विहिन
बिर्तामोड । इलाम माईजोगमाई गाउँपालिका–५ सोयाङका २२ वर्षीय पुजन बस्नेत भारतको राजधानी नयाँ दिल्लीबाट सम्पर्क विहिन भएका छन । बस्नेत माघ ५ गते वुधबारदेखि सम्पर्क विहिन भएको पारिवारिक स्रोतले जनाएको छ ।
युरोपियन मुलुक क्रोएसियाको लागि भिसा एप्लाई गरेका बस्नेतलाई नयाँ दिल्लीस्थित क्रोएसियाको दुतावासमा भिएफएस ग्लोबलमार्फत स्टाम्पिङका लागि नयाँ दिल्ली पठाइएको काठमाडौको सुकेधारामा अवस्थित सिगुल ओभरसिजमा एजेन्टको काम गर्ने झापा शिवसताक्षी ८ डुँडामारीका एकराज शेर्माले बताए । बस्नेतले शेर्मा मार्फत भिषा एप्लाई गरेका थिए । पुजनसँगै अरु तीनजना युवा र कल्याण राई दिल्ली गएको पारिवारिक स्रोतले परिवेश मिडियालाई जानकारी दिएकोछ ।
पुजनका भाई पुकार बस्नेतका अनुसार पुजन एक महिनाअघि नै काठमाडौं गएका थिए । ३७औं दिनका दिन गत माघ ४ गते मंगलबार काठमाण्डौबाट हिडेका पुजन ५ गते वुधबारसाँझ दिल्ली पुगेको बताइएको छ ।
दिल्लीको पहाडगञ्जस्थित गुलाव गेष्ट हाउसमा पुजनलाई छाडेर मेनपावरका कर्मचारी कल्याण राई र पुजनसँगै विदेश जान हिडेका पोखराका आशिष रानाभाट जोगबनीबाट गएका मोरङका अन्य युवाहरु मनप्रसाद योङहाङ र मनबहादुर योङहाङलाई रिसिभ गर्न निस्किएको र आउँदा पुजन गेष्ट हाउसमा नभएको पुजनलाई विदेश पठाउन लागेका झापा शिवसताक्षी ८ डुँडामारीका शेर्माले बताए । ‘जोगवनीबाट गएका भाइहरुलाई लिन गएको बेला पुजन होटलबाट निस्किएर हिँडेछ,’ उनले भने,‘होटलमा झोला, मोबाइलहरु छोडेर पुजन निस्किएको सीसी टिभी फुटेजमा देखिएको छ ।’ दिल्लीस्थित नेपाली दुताबासमार्फत पुजनको खोजीका लागि काम भइरहेको र उनका परिवारका सदस्यसहित आइतबार दिल्ली जान लागेको शेर्माको भनाई छ ।
दाजुको खोजीका लागि भाइ पुकार शुक्रबार काठमाण्डौ जान लागेका छन ।