२०८३ बैशाख १८ गते , शुक्रबार

दमकको चर्च नजिकै हिमाल सुरक्षा परिषदले किन राख्यो बमजस्तो बस्तु

sajilo news
परिवेश मिडिया
२०७८ माघ १३ गते , विहीबार
दमकको चर्च नजिकै हिमाल सुरक्षा परिषदले किन राख्यो बमजस्तो बस्तु

बिर्तामोड । माघ ९ गते आइतबार बिहान उज्यालो नहुँदै बिर्तामोडको पश्चिम बस पार्कमा बम फेला परेको सूचना प्रहरीकोमा आयो ।  सो सूचना चारआलीस्थित श्री नयाँ श्री नाथ गणमा पुग्यो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले घटनास्थलको वरपर सर्च गर्दा हिमाल सुरक्षा परिषदको नामको एउटा पर्चा फेला पार्यो । मुख्यतः संघीयताको खारेजी र हिन्दू राष्ट्र कायम हुनुपर्ने माग गरेको पर्चामा पाइएको थियो ।
त्यसको पाँच दिन पछि आज विहिबार दमक ५ मा रहेको हरीओम कोलोनीस्थित एक चर्च नजिकै खाना पकाउने प्रेसर कुकर फेला पर्यो । कुनै बम जस्तो बस्तु फेला परेको सूचना प्रहरीले पायो । उक्त सुचना सवा ११ बजे प्रहरीको मा आएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक नवराज कार्कीले बताए ।
केर्खास्थित नेपाली सेनाको २१ नम्बर बाहिनी अड्डाबाट गएको बम डिस्पोजल टोलीले उक्त कुकर सुरक्षितसाथ ब्यवस्थापन गर्ने क्रममा नक्कली बम 'होक्स' भएको पाइएको श्री नयाँ श्री नाथ गण चारआलीका प्रमुख सेनानी अमरजंग थापाले बताए । 
प्रहरीले घटनास्थलबाट हिमाल सुरक्षा परिषद नेपालको कोशी अञ्चल कमिटीको नामको पर्चा फेला पारेको इलाका प्रहरी कार्यालय दमकका प्रमुख कार्कीले  बताए । इन्चार्ज अनिशाद्वारा हस्ताक्षरित पर्चामा 'आदरणीय आमा बुवा, दाजुभाइ तथा दिदीबहिनीहरु, गणतन्त्र स्थापनापछि मुलुकको आमूल परिवर्तन हुन्छ भन्ने कुरा तपाइ हामीले सबैले सोचेका थियौं । तर, आज मुलुक झन संकट तर्फ गैरहेको छ । विदेशी दलालहरुले मुलुकलाई रणभूमिमा परिणत गर्न खोजिरहेका छन तसर्थ मुलुक बचाउने दायित्व तपाईं हामी सबैको हो' उल्लेख छ ।
पर्चामा परिषदले संघियता खारेज गरि सनातन हिन्दू राष्ट्र कायम गर, देशले धान्न नसक्ने संघीयता खारेज गर, नेपाली धर्म मास्न गरिएको धर्म परिवर्तनमा रोक लगा जस्ता ७ बुँदामा आफ्ना माग समेटेको छ । अन्त्यमा राष्ट्रघाती विरुद्धको हाम्रो कारबाही शुरु भइसकेकाले गद्दारहरु होसियार भनेर लेखिएको छ ।
परिषदले चर्च नजिकै बम राखेर तर्साउन खोजिनुले पनि केही अर्थ राख्ने स्थानीयहरुको भनाई छ । 

सम्बन्धित समाचार