श्रीमतीको हत्या गरि घरभित्र गाडेको अभियोगमा श्रीमान पक्राउ
धनकुटा । तीन सातादेखि सम्पर्कविहीन धनकुटा नगरपालिका-४ छारागाँउकी ५५ वर्षीया सीता श्रेष्ठको शव घरभित्र गाडेको अवस्थामा फेला परेको छ। सिताको हत्या अभियोगमा प्रहरीले उनका श्रीमान ५५ बर्षीय सिताराम भनिने सिताकुमार श्रेष्ठलाई पक्राउ गरेको छ ।
गत पुस १६ गतेदेखि सम्पर्कविहीन उनको शव हत्या गरी पुरेको अवस्थामा घरभित्र सोमबार फेला परेको छ। भुइँतलामा पुरेको अवस्थामा फेला परेको उनको शरीरमा चोट रहेको र शव गलेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुरज कार्कीले जानकारी दिए। सीता हराएको भनेर पुस २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको कार्कीले जानकारी दिए।
उजुरीपछि प्रहरीले कुकुर परिचालन गरेर खोज तलास गरे पनि फेला पार्न सकेको थिएन। लामो समयसम्म घटनाको विषयमा प्रहरीले केही पत्ता लगाउन नसक्दा प्रहरी चुकेको स्थानीयको आरोप थियो। सीताको हत्या घरायसी विवादको क्रममा उनका श्रीमान सीताकुमार श्रेष्ठले गरेको खुल्न आएको डिएसपी कार्कीले बताए। श्रीमतीको हत्या गरी घरभित्र शव पुरेर फरार रहेका सीतारामलाई आइतबार ललितपुरबाट पक्राउ गरी धनकुटा ल्याइएको प्रहरीले जनाएको छ।