प्रहरी जवानले इन्स्पेक्टर हुन सात तह पार गर्नुपर्ने
बिर्तामोड । प्रहरी नियमावली २०७१ (नवौं संसोधन) भएको छ । संसोधनमार्फत अधिकृतभन्दा तल तीन वटा पद थप गरिएको छ । गृह मन्त्रालयले यससम्बन्धी सूचना सोमबार राजपत्रमा प्रकाशन गरेको छ । यसै साता बसेको मन्त्रीपरिषद् बैठकले नियमावली संसोधन गरेको थियो । मंसिर दोस्रो साता नै यससम्बन्धी मन्त्रिपरिषद्बाट निर्णय गरको बताइए पनि थप विषय संशोधनका लागि पेश भएका कारण सार्वजनिक गरिएको थिएन ।
अब जवान पदमा भर्ना भएका प्रहरीले इन्स्पेक्टर हुन सात तह पार गर्नु पर्नेछ । नवौ संसोधनमार्फत प्रहरी वरिष्ठ नायव निरीक्षक, प्रहरी वरिष्ठ हवल्दार र सहायक हवल्दार पद सिर्जना गरिएको छ । अहिले जवानबाट हवल्दार, हवल्दारबाट सहायक निरीक्षक (असई) र असईबाट नायव निरीक्षक सई हुने प्रावधान रहेकोमा नियमावली संशोधनसँगै हवल्दारबाट सहायक हवल्दार, सहायक हवल्दारबाट वरिष्ठ हवल्दारमा बढुवा गरिने छ । त्यस्तै सईभन्दा माथि वरिष्ठ सई रहने गरी एक तह माथिको दर्जा थप गरिएको छ ।
थप गरिएका दर्जामध्ये वरिष्ठ सईको दज्र्यानी चिन्ह ३ वटा तारा रहने छ । त्यस्तै वरिष्ठ हवल्दारको दज्र्यानी चिन्ह हल्का फिक्का एल आकारको तीनवटा धर्सामा ठाडो धर्सा र सहायक हवल्दारको दुईवटा एल आकारको धर्सा रहने छ । बाँकीको यसअघिकै दज्र्यानी कायम गरिएको छ ।