तामझाम र परम्परा तोड्दै भारत गए प्रधानमन्त्री शाह
प्रमुख प्रतिपक्षी दल काँग्रेसद्वारा असन्तुष्टि व्यक्त
बिर्तामोड । प्रधानमन्त्रीको यस अघि विदेश भ्रमणका क्रममा हुने कतिपय परम्परा र तामझाम तोड्दै प्रधानमन्त्री वालेन्द्र शाह भारत भ्रमणका गएका छन् । ३५ सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री शाह बिना तामझाम भारत गएका हुन् ।
प्रधानमन्त्री शाहले एयरपोर्टमा नेपाली सेनाको गारत (गार्ड अफ अनर) लिएनन् भने उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री शाहलाई गृहमन्त्री सुधन गुरुङ, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र सत्तारुढ दल रास्वपाका प्रवक्ता जगदीश खरेलले बिदाइ गरेका छन् । गुरुङ, श्रेष्ठ र खरेल बाहेक शाहको बिदाइमा विगतमा जस्तो कुनै तामझाम र लावालस्कर देखिएन ।
त्यतिमात्र होइन, विदेश भ्रमणमा जाँदा बालेनले फर्स्ट लेडीका रूपमा श्रीमती (सविना काफ्ले) लाई समेत दुवै भ्रमण टोलीमा समावेश गरेनन् ।
यसअघि राष्ट्र प्रमुख वा सरकार प्रमुख औपचारिक विदेश भ्रमणमा जानुअघि पूर्वप्रधानमन्त्री, राजनीतिक दलका प्रमुख, पूर्वपरराष्ट्रमन्त्री तथा कूटनीतिज्ञ लगायतसँग परामर्श गर्ने अभ्यास थियो । यद्यपि प्रधानमन्त्री शाहले कसैसँग परामर्श गरेनन् ।
प्रधानमन्त्री शाहले यसपालि विगतका अभ्यास र परम्परा तोडेकोमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले असन्तुष्ट व्यक्त गरेको छ । वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले शनिबार विज्ञप्तिमार्फत प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्टि जनाए ।
‘मित्र राष्ट्रहरूमा हुने महत्त्वपूर्ण भ्रमणहरू अघि राष्ट्रिय हितका विषयहरूमा साझा समझदारी निर्माण गर्न प्रमुख प्रतिपक्ष तथा अन्य राजनीतिक दलहरूसँग परामर्श गर्नु हाम्रो स्थापित लोकतान्त्रिक परम्परा हो,’ विज्ञप्तिमा भनिएको छ, ‘तर, सरकारले प्रमुख प्रतिपक्ष, अन्य दलहरू र विषय विज्ञहरूसँग परामर्श गर्नु आवश्यक ठानेन । तसर्थ, सरकारले औपचारिक सुझाव नमागेको अवस्थामा नेपाली कांग्रेसले पनि आफैँ अघि सरेर सुझाव दिनु उपयुक्त ठानेन ।’
प्रधानामन्त्री शाहले विगतका अभ्यास र परम्परामात्र होइन, संवैधानिक व्यवस्थाको पनि उल्लङ्घन गरेका छन् । संविधानको धारा ८१ मा प्रधानमन्त्रीले देशको समसामयिक परिस्थिति र वैदेशिक सम्बन्धमा राष्ट्रपतिलाई जानकारी गराउनुपर्ने व्यवस्था छ ।
तर, शाह प्रधानमन्त्री बनेपछि संवैधानिक व्यवस्था उल्लङ्घन गर्दै आएको पाइएको छ । संयुक्त राष्ट्रसंघ र भारत भ्रमण लगायत अन्य समसामयिक विषयमा प्रधानमन्त्री शाहले राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराएका छैनन् । राष्ट्रपति कार्यालयले पनि यस विषयमा आफूहरूलाई कुनै जानकारी नभएको बताएको छ ।