२०८३ कार्तिक २६ गते , विहीबार

आज भाइटीका, ११ः०७ बजेको समय उत्तम

sajilo news
परिवेश मिडिया
२०८३ कार्तिक २५ गते , बुधबार
आज भाइटीका, ११ः०७ बजेको समय उत्तम

बिर्तामोड । हिन्दू नेपालीहरूको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व तिहारको आज अन्तिम दिन भाइटीका । यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् ।
दिदीबहिनीले दाजुभाइको सुख, शान्ति, सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्दै सप्तरंगी टीका र माला लगाइदिने हुनाले यसलाई पारिवारिक सम्बन्ध बलियो बनाउने विशिष्ट पर्वका रूपमा मनाइन्छ। भाइटीकाले दाजुभाइ र दिदीबहिनीबिचको प्रेममय सम्बन्धलाई रङ्गहरूजस्तै सधैँ गाढा, ताजा र प्रज्ज्वल बनाइराख्ने विश्वास गरिन्छ।
पौराणिक कथाअनुसार कार्तिक शुक्ल पक्षको द्वितीया तिथिमा यमुनाले यमराजलाई आफ्नो घरमा निम्तो दिएकी थिइन्। यमुनाको निम्तो स्वीकार गरी कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म बहिनीका घरमा बसी रमाइलो गर्दै भाइटीका लगाएका हुनाले यस समयलाई यमपञ्चक भनिएको हो।
आफ्नी बहिनीको सत्कारबाट निकै प्रसन्न भई सूर्यका छोरा यमराजले ‘के वर माग्छ्यौ, माग’ भन्दा यमुनाले ‘प्रत्येक वर्ष यसै समयमा मलाई भेट्न आउनुपर्ने, दाजुबहिनीको प्रेम सदा अटल रहोस् र दाजुभाइको आयु तथा कीर्ति सर्वदा वृद्धि होस्’ भनी वरदान मागिन्। यमराजले पनि बहिनी यमुनालाई ‘तथास्तु’ भनी वरदान दिए। यही पौराणिक कथनअनुसार अविच्छिन्न रूपमा अहिलेसम्म तिहारमा भाइटीका लगाउने परम्परा चलेको हो।
प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीका नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य पर्व हो। यस दिन दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, आरोग्य र समृद्धिको कामना गर्दै परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका लगाइदिने चलन छ । यस पर्वलाई यमद्वितीया पनि भनिन्छ ।
भाइटीका आज दिनभर लगाउन सकिने भए पनि साइत खोज्नेका लागि बिहान ११ः०७ बजेको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष सह प्रा.डा. पुरुषोत्तम भट्टराईले जानकारी दिए। उनका अनुसार आज दिनभर टीका लगाउन कुनै बाधा छैन । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिले जनाएको छ ।

सम्बन्धित समाचार