२०८३ कार्तिक २७ गते , शुक्रबार

करिब ३० हजार वैदेशिक रोजगार ठगी मुद्दाका अभियुक्त फरार

सम्पर्कमा नआए कालो सूचीमा राखिने

sajilo news
परिवेश मिडिया
२०८३ कार्तिक १५ गते , आईतबार
करिब ३० हजार वैदेशिक रोजगार ठगी मुद्दाका अभियुक्त फरार

झापा । वैदेशिक रोजगार विभागले लामो समयदेखि पक्राउ पुर्जी जारी भएर सम्पर्कमा नआएकालाई सम्पर्कमा आउन सूचना जारी गरेको छ । विभागले ३५ दिनको म्याद राखेर कार्तिक ९ गते जारी गरेको सूचनाको समयावधि सकिनै लागेको छ । 
वैदेशिक रोजगार न्यायाधीकरणबाट अनुमति लिई विभागले वैदेशिक रोजगार सम्बन्धी मुद्दामा फरारलाई सम्पर्कमा आउन भनेको थियो ।
त्यसरी पक्राउ पुर्जी जारी भएको फरार संख्या कति छ भन्ने हालसम्म यकिन हुन सकेको छैन । विभागको अनुमान अनुसार हालसम्म ३० हजारभन्दा धेरै वैदेशिक रोजगार सम्बन्धी मुद्दा विचाराधीन छन् ।
विभागले पक्राउ पुर्जी जारी गरेकालाई सम्पर्कमा आउन भन्दै सूचना जारी गरेपछि कति संख्यामा अभियुक्त फरार छन भन्ने प्रश्न छ । ठूलो संख्यामा पक्राउ पुर्जी जारी भएको र उनीहरू लामो समयदेखि नै सम्पर्कमा नआएको देखिन्छ । उनीहरूलाई सम्पर्कमा ल्याउन र मुद्दा किनारा लगाउने उद्देश्य सहित विभागले ३५ दिने सूचना जारी गरेको थियो ।
९ कात्तिकमा जारी सूचनामा ३५ दिनभित्र विभाग वा नेपाल प्रहरीको सम्पर्कमा नआए बैंकिङ कारोबार हुने खाता तथा यात्रा अनुमति रोक्का राख्ने लगायत कानुनी प्रक्रिया अघि बढाइने उल्लेख छ ।
तर, पक्राउ पुर्जी जारी भएका व्यक्तिको संख्या यकिन गर्न विभागले पुराना मुद्दाका फाइल खोतल्नुपर्ने अवस्था छ । विभागका एक अधिकारीका अनुसार पक्राउ पुर्जी जारी भएका व्यक्तिको संख्या ठूलो भए पनि त्यसको व्यवस्थित अभिलेख छैन ।
‘विभिन्न समयमा धेरै मान्छेलाई पक्राउ पुर्जी जारी भएको छ, तर त्यसको संख्या छैन, अहिले हामी रेकर्ड उतार्दै छौं,’ विभागका एक अधिकारीले भने, ‘पुराना फाइल सबै हेर्नुपर्ने छ, एकेक गर्दै निकालिरहेका छौं ।’

सम्बन्धित समाचार